काठमाडौँ
नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा बुधबार हस्ताक्षर गरिएको छ। अर्थमन्त्री रामेश्वर खनालको समुपस्थितिमा सम्पन्न समारोहमा दुवै पक्षका उच्च अधिकारीहरुको सहभागिता थियो।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन, अर्थात करिब ३१.७६ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। जाइकामार्फत प्रदान हुने यो ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत रहने अर्थ मन्त्रालयले जनाएको छ।
आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउने र उपत्यकामा दीर्घकालीन रूपमा ट्राफिक जाम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
ऋण सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालको प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका थिए।
हस्ताक्षरपछि जाइका प्रतिनिधि माजुकी, राजदूत तोरु तथा अर्थमन्त्री खनालले नेपाल–जापानबीचको सहयोगलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। राजदूत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगबाट कार्यान्वयन हुने कोटेश्वर चोक सुधार परियोजनाले उपत्यकाको यातायात व्यवस्थापनमा महत्वपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्दै दुई देशबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धलाई स्मरण गरे।
अर्थमन्त्री खनालले काठमाडौं उपत्यकाका जामयुक्त महत्वपूर्ण स्थान सुधार गर्ने उद्देश्यले अघि बढाइएको यो परियोजनाले दीर्घकालीन रूपमा यातायात प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने बताए।
कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।