काठमाडौँ
पत्रकार गौरव पौडेलले लगातार १०० घण्टा अन्तर्वार्ता लिने तयारी गर्दै विश्व रेकर्ड बनाउने घोषणा गरेका छन्। आगामी पुस १ गतेदेखि अन्तर्वार्ता म्याराथन सुरु हुने उनले जानकारी दिए।
केही वर्षअघि रवि लामिछानेले ६२ घण्टासम्म निरन्तर अन्तर्वार्ता सञ्चालन गरेर विश्वकिर्तिमान बनाएका थिए। तर २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्डसम्म टेलिभिजन टक–शो होस्ट गर्दै “सबैभन्दा लामो टेलिभिजन टक–शो” श्रेणीमा लामिछानेको रेकर्ड तोडेका थिए। पौडेलका अनुसार अब सोही रेकर्ड पुनः नेपालमै फर्काउने लक्ष्यसहित आफू ऐतिहासिक यात्रामा निस्किएका हुन्।
“चार दिन चार रात लगातार १०० घण्टासम्म नेपालका विशिष्ट व्यक्तित्व—कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमी, मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासँग संवाद गरिनेछ,” पौडेलले भने। जेन–जी पुस्तादेखि राष्ट्रिय स्तरमा प्रभाव राख्ने व्यक्तिहरूको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ।
नेपालमै पहिलोपटक बिना रोकावट, प्रोफेसनल टेलिभिजन सेटअपमा सञ्चालन हुने यति लामो अन्तर्वार्ता म्याराथनका लागि आवश्यक सबै प्राविधिक तयारी पूरा भएको आयोजक टोलीले जनाएको छ। स्वास्थ्य सुरक्षा, मनोवैज्ञानिक काउन्सिलिङ, प्रसारण पूर्वाधारलगायत सम्पूर्ण व्यवस्था मिलाइएको बताइएको छ।
“विश्व रेकर्ड फर्काउने मात्र उद्देश्य होइन, नेपाली पत्रकारिताको चुनौती, क्षमता र लगनलाई विश्वसमक्ष पुनः प्रमाणित गर्ने मुख्य मनसाय यस परियोजनाको हो,” पौडेलले भने।