काठमाडौँ, मङ्सिर १८
३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले ठगी, आपराधिक विश्वासघात र हुन्डीसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्रअनुसार प्रतिवादी पाँचै जनासहित प्रभु मनि ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिलाई पनि समान तीन कसुरमा समान बिगो कायम गरिएको छ। सहकारी संस्थाले सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै दिएका उजुरीका आधारमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।
सरकारी वकिलका अनुसार प्रतिवादीहरूले सहकारीलाई दिनुपर्ने रेमिट तथा धरौटी रकम उपलब्ध नगराई ठगी, आपराधिक विश्वासघात र राष्ट्र बैंकसम्बन्धी कसुर गरेको आरोप छ।
मुद्दामा रामबाबुप्रसाद जयसवाल, हेमकुमार महाजु, देवीप्रकाश भट्टचन, कुसुम लामा, रामेश्वर सापकोटासहित श्रुतिका लामा र सन्तोषकुमार लामा प्रतिवादी बनाइएका छन्। जयसवाल र महाजुलाई अदालतमा उपस्थित गराइएको छ भने भट्टचनसहित अन्यलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ। पक्राउ परेपछि जामिनमा रिहा भएका भट्टचन भने अनुपस्थितकै रूपमा मुद्दा चलाइएको उल्लेख छ।
अभियोगपत्रले ठगी र मनी ट्रान्सफरसम्बन्धी कसुरमा छुट्टाछुट्टै ६ करोड ५२ लाख ५५ हजार ४२१ रुपैयाँ बिगो दाबी गरेको छ। त्यसबाहेक प्रभु म्यानेजमेन्टमार्फत रेमिटको आवरणमा भएको हुन्डी कारोबारमा ६ करोड १० लाख ७ हजार १५० रुपैयाँ बिगो दाबी गरिएको छ। सहकारीहरूको दाबीअनुसार भुक्तानी रकम, धरौटी तथा ब्याजसहित ६ करोड ५२ लाख ५५ हजार ४२० रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। अपराधपीडित कोषमा पनि आवश्यक रकम भराउन अभियोगपत्रले माग गरेको छ।
कानुनी सजाय
मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। राष्ट्र बैंक निर्देशिका विपरीत काम गरेमा बिगो जफतसहित तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजायसमेत हुने व्यवस्था छ।
गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ
यसैबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई काठमाडौँबाट पक्राउ गरेको छ। शाक्यमाथि बैंकिङ कसुरमा संलग्न भएको आरोप छ। प्रभु बैंक र प्रभु म्यानेजमेन्टसम्बन्धी अनुसन्धानको क्रममा शाक्यलाई पक्राउ गरिएको CIB का प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
CIB ले यसअघि प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन, प्रभु बैंकका सिइओ अशोक शेरचन, नायब सिइओ मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।
गत कात्तिक २२ गते CIB ले प्रभु बैंकको बिजुली बजारस्थित मुख्य कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो।