काठमाडौं ।
नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश संरचना र प्रत्यक्ष कार्यकारी प्रणालीबारे जनमत संग्रहमा जान सरकारलाई आग्रह गरेका छन्। उनले अन्तरिम सरकारले आफूहरूका माग सम्बोधन नगरे आन्दोलन अपरिहार्य हुने चेतावनीसमेत दिए।
प्रसाईंका अनुसार आफूले अन्तरिम सरकारसँग वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश संरचना तथा प्रत्यक्ष कार्यकारीको व्यवस्थाबारे स्पष्ट निर्णयका लागि जनमत लिने व्यवस्था गर्न माग गरेका छन्। “लडाइँ नचाहने हो भने जनमत संग्रह नै अन्तिम विकल्प हो,” प्रसाईंले भने।
उनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग यसबारे कुराकानी भएको उल्लेख गर्दै गृहमन्त्री मागप्रति सकारात्मक रहेको दाबी गरे। आफ्नो माग नेपाल विभाजन वा अस्थिरता ल्याउने खालको नभएको दाबी गर्दै प्रसाईंले “म माग पूरा हुनेमा ६० प्रतिशत विश्वस्त छु,” भने।
सरकारले माग पूरा नगरे आन्दोलनमा जानुको विकल्प नहुने चेतावनी दिँदै प्रसाईंले जोड दिए, “यी माग पूरा भएनन् भने चित्त बुझ्दैन, त्यहाँ आन्दोलन गर्छौँ। नागरिकका मागहरू अवहेलना गर्नु हुँदैन।”
उनले अन्तरिम सरकारले भ्रष्टाचारीविरुद्ध कारबाही गर्न नसकेको र जेन–जी आन्दोलनका आधारमा बनेको सरकारले सोही आन्दोलनका सहभागीहरूलाई थुनिरहेकाे आरोप लगाए। “जुन जेन–जीलाई टेकेर सरकारमा जानुभयो, त्यही जेन–जीलाई थुनिएको छ। सरकार उल्टो बाटोमा हिँडिरहेको छ,” प्रसाईंको आरोप थियो।