काठमाडौंस्थित लगन टोलमा रहेको ऐतिहासिक येंगा हिटीको जीर्णोद्धार कार्य पूर्ण भएको छ। अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को सहयोगमा येंगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्व विभाग तथा स्थानीय–प्रदेश सरकारको सहकार्यमा पुनःनिर्माण सम्पन्न गरिएको हो।
शनिबार अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्स र काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले संयुक्त रूपमा येंगा हिटीको उद्घाटन गरे। यस अवसरमा राजदूत मिक्सले परियोजनाले नेपालको सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा अमेरिकी सहकार्यको निरन्तरता झल्काएको बताए। “येंगा हिटीको पुनर्जीवन केवल संरचनाको मर्मत होइन, १५ सय वर्षअघि निर्माण भएको जीवन्त जलस्रोत प्रणालीको नवीकरण पनि हो,” उनले भने।
झण्डै तीन वर्षको मेहनतपछि पुनःस्थापित हिटीमा ५० वर्षपछि पहिलोपटक पानी प्रवाह सुरु भएको छ। ‘काठमाडौं उपत्यकाका हिटी : जलसम्पदा पुनःस्थापना परियोजना’ अन्तर्गत रहेको यस कामका लागि २ लाख ७५ हजार अमेरिकी डलर बराबरको एएफसीपी अनुदान प्राप्त भएको दूतावासले जनाएको छ। परियोजनाले उपत्यकाका कम्तीमा तीन परम्परागत हिटीहरूको पुनःस्थापना, विद्यार्थी तथा सम्पदा पेसाकर्मीलाई व्यावहारिक तालिम, र दीर्घकालीन संरक्षण योजनामा योगदान गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहका क्रममा येंगा हिटी परिसरमा ‘हिटी सम्पदा’ विषयक कला प्रदर्शनी समेत आयोजना गरिएको थियो। आशा डंगोल, भाइराजा महर्जन, बिधाता केसी, बिनोद प्रधान, एरिना ताम्राकार, कृष्ण लामा लगायत २० जना कलाकारका चित्रकला प्रदर्शनमा राखिएका थिए। प्रदर्शनी संयोजक अभियन्ता मिनु प्रधानका अनुसार उपत्यकाका ऐतिहासिक ढुंगेधाराको महत्वबारे जनचेतना बढाउन प्रदर्शन आयोजना गरिएको हो।