काठमाडौं
रॉयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रीट–रोड्स्टर मोडेल ‘हन्टर ३५०’को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका आधुनिक महानगरहरूको शहरी जीवनशैलीबाट प्रेरित आकर्षक रङ, परिष्कृत सस्पेन्सन र सहज एर्गोनोमिक बनोटसहितको बीएस–सिक्स २०२५ संस्करण कम्पनीले सोमबार काठमाडौंमा प्रस्तुत गरेको हो।
नयाँ हन्टर ३५० चार शहरी–प्रेरित रङमा उपलब्ध छ—रियो सेतो (रियो ह्वाइट), टोकियो ब्ल्याक, लन्डन रेड र ग्राफाइट ग्रे। रियोको सेतो तट, लन्डनको ‘ब्रिक लेन’ शैली, टोकियोको रातो–कालो सडक र ग्राफाइट ग्रेको दमदार बनावटले मोटरसाइकललाई झनै आकर्षक र आधुनिक बनाएको कम्पनीको दाबी छ।
यस संस्करणमा स्लिप–असिस्ट क्लच जडान गरिएको छ, जुन ३५० सिसी श्रेणीका रॉयल एनफिल्ड मोटरसाइकलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। सुधारिएको पछाडिको सस्पेन्सन, १६० मिमि ग्राउन्ड क्लियरेन्स, उन्नत सीट, डुअल–च्यानल एबीएस, एलइडी हेडलाइट र सहज एर्गोनोमिक बनोटले सवारी अनुभवलाई थप सुरक्षित र आरामदायी बनाएको कम्पनीले जनाएको छ। साथै, ट्रिप–नेभिगेटर पनि समावेश छ।
हन्टर ३५०मा जडान गरिएको ३४९ सिसीको ‘जे–सिरिज’ इन्जिन शहरी सडकका लागि आवश्यक हुने चुस्ती, शक्ति र विश्वसनीयता प्रदान गर्ने बताइएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको हन्टर ३५०ले विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीको दाबी छ।
रॉयल एनफिल्डका प्रमुख व्यावसायिक अधिकृत यदविन्दर सिंह गुलेरियाले नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीसमेत भएको बताउँदै नयाँ संस्करण शहरी युवाको ऊर्जा र गतिशीलतालाई लक्षित गरिएको उल्लेख गरे।
मूल्य
– सिंगल टोन (रियो सेतो, डेपर ग्रे, ग्राफाइट ग्रे): रु ४,९४,९००
– डुअल टोन (टोकियो ब्ल्याक, लन्डन रेड, रेबेल ब्लु): रु ४,९९,९००
देशभरका शोरूममार्फत बुकिङ र टेस्ट–राइड खुलेको कम्पनीले जनाएको छ।
रॉयल एनफिल्डबारे
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रॉयल एनफिल्ड विश्वकै पुरानो मोटरसाइकल ब्रान्ड मानिन्छ। ब्रिटिश मूलको इतिहास बोकेको यस ब्रान्डले सन् १९५५ मा भारतमा उत्पादन केन्द्र स्थापना गरेपछि मध्यम–क्षमताका मोटरसाइकलमा विश्वव्यापी छवि बनाएको छ। ‘प्योर मोटरसाइक्लिङ’ यसको पहिचानको मुख्य आधार मानिन्छ।
कम्पनीका प्रमुख मोडेलमा बीयर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५०, हन्टर ३५०, मेटियोर ३५०, सुपर मेटियोर ६५०, इन्टर्सेप्टर ६५०, कन्टिनेन्टल जीटी ६५०, सटगन ६५०, हिमालयन ४५०, स्क्र्याम ४४०, बुलेट ३५०, क्लासिक ३५० र गोअन क्लासिक ३५० समावेश छन्। हालै कम्पनीले क्लासिक शैली र आधुनिक शहरी गतिशीलताको मिश्रण रहेको ‘फ्लाइङ फ्ली’ पनि सार्वजनिक गरेको छ।
राइडर म्यानियाबाट नाम परिवर्तन गरिएको रॉयल एनफिल्ड मोटोभर्स, हिमालयन ओडिसी लगायतका गतिविधिले विश्वभरका मोटरसाइकल प्रेमीहरूलाई जोड्दै आएको कम्पनीले बतायो।
आईचर मोटर्सअन्तर्गत सञ्चालित रॉयल एनफिल्डका भारतमा २,००० भन्दा बढी स्टोर छन् भने विश्वका ६५ भन्दा बढी मुलुकमा करिब ८५० स्टोर सञ्चालनमा छन्। साथै, नेपाल, बंगलादेश, ब्राजिल, थाइल्यान्ड, अर्जेन्टिना र कोलम्बियासहित सात देशमा सीकेडी असेंब्ली केन्द्र सञ्चालनमा छन्।