काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनुपर्नेमा जोड दिएका छन्। ७७औँ विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मानव अधिकारको प्रत्याभूति आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे।
दाहालले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न नसक्ने बताउँदै द्वन्द्वकालीन पीडितलाई न्याय, सत्यको खोजी र परिपूरण उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरेका छन्। “सङ्क्रमणकालीन न्यायलाई चाँडो टुङ्ग्याएर पीडितका घाउमा मलम लगाउन हामी कुनै हालतमा पछि पर्न सक्दैनौँ। यो हाम्रो राजनीतिक र नैतिक दायित्व हो,” सन्देशमा उल्लेख छ।
पूर्वप्रधानमन्त्री दाहालले दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारूसहितका समुदाय अझै पनि संरक्षित विभेद र उत्पीडनका सिकार बन्न परेको उल्लेख गर्दै मानव अधिकारको वास्तविक सार आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने अधिकारसँग गाँसिएको बताए। समानता, गैर–भेदभाव र राज्यका सबै निकायमा उत्पीडित समुदायको अर्थपूर्ण सहभागिताबिना समावेशी लोकतन्त्र सम्भव नहुने उनले स्पष्ट पारे।
उनले हासिल गरिएका आन्दोलनहरूको बलमा प्राप्त संविधानले यी हकलाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरे पनि ती अधिकार कागजमै सीमित रहन नहुने बताए। “अधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व बनेको छ,” सन्देशमा भनिएको छ।