काठमाडौँ
प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारलाई मानव अधिकारका सबैभन्दा ठूलो चुनौतीका रूपमा चित्रण गर्दै यसको असर प्रत्यक्ष रूपमा नागरिकको मौलिक अधिकारहरूमाथि पर्छ भन्ने धारणा व्यक्त गरेकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले भ्रष्टाचार आर्थिक अनियमिततामा मात्र सीमित नरही विपन्न, अशक्त र अधिकारविहीन नागरिकको भविष्य खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन भएको बताइन्।
प्रधानमन्त्री कार्कीले कुनै पनि आयोजनामा हुने भ्रष्टाचारले उपचार, शिक्षा र आधारभूत सेवा प्राप्तिमा प्रत्यक्ष असर पार्ने उल्लेख गरिन्। “आयोजना भ्रष्टाचारले ग्रस्त हुँदा बिरामी उपचारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छन्,” उनले भनिन्।
२१औँ शताब्दीमा मानव अधिकारको दायरा फराकिलो बनेको उल्लेख गर्दै उनले अहिले मानव अधिकारको अर्थ केवल जीवित रहनु मात्र नभई आत्मसम्मानपूर्वक बाँच्न पाउने, राज्यका निर्णयमा प्रश्न उठाउन पाउने, स्वच्छ वातावरणमा रमाउन पाउने र डिजिटल विश्वमा समान पहुँच प्राप्त गर्ने अधिकारसम्म विस्तार भएको बताइन्।
उनका अनुसार नयाँ पुस्ता—विशेषगरी जेनजी—मानव अधिकारलाई कानुनी सीमाभन्दा पर राखेर व्यावहारिक नतिजामा जोड्दै आएको छ। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत युवाले गरिरहेको खबरदारी लोकतन्त्रको सकारात्मक स्वरूप भएको बताउँदै उनले सरकार डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीतिमा समाहित गर्न दृढतापूर्वक अघि बढ्ने स्पष्ट पारिन्।
भ्रष्टाचारविरुद्ध सरकार कठोर कदम चाल्ने प्रतिबद्धता दोहोर्याउँदै उनले पारदर्शिता र जवाफदेहिताबिनाको वातावरणमा मानव अधिकार सुरक्षित रहन नसक्ने उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताउँदै २०८२ फागुन २१ मा हुने निर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारी भइरहेको जानकारी दिइन्।
शान्ति प्रक्रियाबारे बोल्दै उनले नेपालको अनुभवले विश्वलाई प्रेरणा दिएको उल्लेख गरिन्। संक्रमणकालीन न्यायका बाँकी काम पूरा हुन ढिलो भए पनि पीडितले न्यायको अनुभूति नपाएसम्म प्रक्रिया सम्पन्न नहुने बताइन।
सो अवसरमा उनले राष्ट्रिय मानव अधिकार आयोगलाई लोकतन्त्रको पहरेदार संस्था भन्दै यसको स्वायत्तता, स्वतन्त्रता र प्रभावकारिताको संरक्षणमा सरकार प्रतिवद्ध रहेको र आयोगका सिफारिस कार्यान्वयनमा गम्भीरतापूर्वक लाग्ने आश्वासन दिइन्।