लोक तथा दोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल आगामी फागुन १ देखि ३ गतेसम्म नौौँ केन्द्रीय महाधिवेशन गर्ने तयारीमा जुटेको छ। महाधिवेशनको मिति टुंगो लागिसकेको भए पनि कार्यक्रम स्थल भने चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको अध्यक्ष रीता थापा मगरले बताइन्।
प्रतिष्ठानले यसअघि जिल्ला, प्रदेश तथा विदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ। अब हुने महाधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।
अध्यक्षमा कसको सम्भावना?
महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले लोकदोहोरी क्षेत्रमा चासो बढेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष तथा चर्चित गायक पशुपति शर्मा प्रमुख दाबेदारका रूपमा हेरिएका छन्। वरिष्ठताको आधारमै पनि उनी आगामी नेतृत्वका ‘लाइन’ मा रहेको मानिन्छ। केही महिनाअघि सञ्चारमाध्यममा उनले अध्यक्ष बन्ने इच्छा खुलेर व्यक्त गरेका थिए।
अध्यक्ष थापा मगरले पनि शर्मा आकांक्षीमध्ये एक भएको स्वीकार गर्दै, “यसपटक आकांक्षीहरूको संख्या धेरै छ,” भनिन्।
ठूलो संरचना, ठूलो प्रतिस्पर्धा
प्रतिष्ठानमा करिब ३० हजार साधारण सदस्य र ३ हजार आजीवन सदस्य छन्। जिल्ला, प्रदेश, उपत्यका र विदेशसहित १ सयभन्दा बढी शाखा समिति सञ्चालनमा छन्, जसले नेतृत्व प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।
यसअघि धादिङमा सम्पन्न महाधिवेशनबाट रीता थापा मगर निर्विरोध अध्यक्ष बनेकी थिइन्। उनी प्रतिष्ठानको दुई दशकको इतिहासमै पहिलो महिला अध्यक्ष हुन्।
फागुनमा हुने महाधिवेशनले दोहोरी क्षेत्रको आगामी तीन वर्षका लागि कसको हातमा नेतृत्व सर्छ—अब चासो यहीमा केन्द्रित भएको छ।