नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पर्वत संरक्षणको आवश्यकता र जलवायु संकटले पहाडी क्षेत्रमा पारेको गम्भीर प्रभावबारे चिन्ता व्यक्त गरेका छन्।
सन्देशमा दाहालले पर्वतलाई “प्रकृतिका अमूल्य धरोहर” भन्दै जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जन पर्वत–पर्वतीय क्षेत्रमा निर्भर रहेको उल्लेख गरेका छन्। तर, जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेको, पहाड–पर्वतीय पारिस्थितिकी तन्त्र असन्तुलित बन्दै गएको र यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित मुलुकमा गम्भीर रूपमा परिरहेको दाहालको भनाइ छ।
“बाढी, खडेरी, माटो क्षयीकरणदेखि खाद्य असुरक्षासम्मका समस्याले पर्वतीय समुदायको जीवन तहसनहस बनाइरहेको छ,” सन्देशमा उल्लेख छ।
दाहालले नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय भएको र हिमालयकै काखमा बसेको देश भएकाले जलवायु परिवर्तनका जोखिमहरू अत्यधिक बढेको बताए। हिमनदी पग्लने गति तीव्र हुनु, नदीहरूको जलप्रवाह अस्थिर हुनु र करोडौँ मानिसको जीवन जोखिममा पर्नुजस्ता चुनौती अल्पविकसित राष्ट्रले भोगिरहेको साझा पीडा भएको उल्लेख गर्दै उनले विकसित देशहरूको उच्च कार्बन उत्सर्जन नै यसको मूल कारण भएको आरोप लगाए।
पर्वत संरक्षण, जलवायु न्याय र वैश्विक सहकार्यलाई जोड दिँदै दाहालले पर्वतीय समुदायको जीवन, वातावरण र भविष्य सुरक्षित गर्न सबैले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।