काठमाडौं
फ्राइडे रिलिजअन्तर्गत आज मंसिर २६ गतेदेखि नेपाली सिनेमा हलहरूमा दुई नयाँ फिल्म ‘पीआर’ र ‘लोकन्ती’ प्रदर्शनमा आएका छन्।
निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’
लामो समयदेखि प्रचार–प्रसारमा सक्रिय फिल्म ‘पीआर’ ले काठमाडौंमा दुई दिनअघि सम्पन्न प्रिमियर शोमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको छ। विषयवस्तुको गहिराइ, कलाकारको अभिनय र सम्पूर्ण प्रस्तुति प्रभावशाली रहेको फिल्मकर्मीहरूको प्रतिक्रिया थियो।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की देखिएका छन्।
प्रेम, संघर्ष र आप्रवासन जस्तो संवेदनशील कथामा आधारित ‘पीआर’ का प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन्। निर्माणमा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। नेपाली युवाको विदेश यात्रापछाडिको सपना, चुनौती र सामाजिक यथार्थलाई फिल्मले उठाएकाे निर्माण पक्षले जनाएको छ।
फिल्मको सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुढाथाेकी, छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।
नेपाली परिवार र समाजको कथा बोकेको ‘लोकन्ती’
आजैदेखि प्रदर्शनमा आएको अर्को फिल्म ‘लोकन्ती’ कृशन फिल्म्सको ब्यानरमा बनेको हो। नेपाली परिवारमा देखिने उतार–चढाव, प्रेम–घृणा, संघर्ष र हास्य–व्यङ्ग्यलाई समेटिएको यो फिल्मको निर्देशन रञ्जित रानाले गरेका हुन्।
निर्माण संस्थाका अनुसार सबै उमेर समूहका दर्शकलाई लक्षित गर्दै नेपाली समाजको यथार्थ चित्रणसहित भावनात्मक र सामाजिक कथानकलाई फिल्मले प्रस्तुत गरेको छ। निर्माता सन्तोष न्यौपानेद्वारा निर्मित ‘लोकन्ती’ ले परिवार, संघर्ष, प्रेम, शान्ति र द्वन्द्वको कथालाई अग्रभूमिमा राखेको छ।
काभ्रे जिल्लाका विभिन्न सुन्दर लोकेशनमा छायांकन गरिएको फिल्ममार्फत कुमार न्यौपाने र विकास अधिकारीले डेब्यू गरेका छन्।
काजी लिम्बुको कथामा निर्माण भएको फिल्ममा एसराज गराच (सुरज कार्की), ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभातलगायतका कलाकारको अभिनय छ। फिल्ममा विकास चौधरीको संगीत, रोनिश तामाङ च्याङबाको छायांकन, अशोक रोक्काको श्रृंगार तथा गौतमराज खड्काको सम्पादन समावेश छ।
दुवै फिल्मलाई व्यवसायिक सफलताको शुभकामना।