काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरोसँग बसेको बताएका छन्। शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेपछि पार्टी र त्यसको नेतृत्वविरुद्ध सुनियोजित रूपमा प्रहार भए पनि त्यसले एमाले कमजोर नबनाएको दाबी गरे।
महासचिव पोखरेलले कतिपयले ती घटनापछि एमालेको भविष्य समाप्त भयो भन्ने आँकलन गरे पनि आजको सभाले एमाले कमजोर नभएको पुष्टि गरेको बताए। उनले भने, “हामी सरकारबाट बाहिरिएका हौँ तर नेपाली जनताको मनमा गहिरो गरी बसेका छौँ। आजको सभाले पनि एमाले कमजोर भएको छैन भन्ने कुरा पुष्टि गरेको छ।”
उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने र देशलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने संकल्पका साथ महाधिवेशन आयोजना गरेको स्पष्ट पारे। “नेकपा एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध अगाडि बढ्ने र लोकतन्त्रको दिशामा देशलाई डोर्याउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको छ,” उनले भने।
महासचिव पोखरेलले देश चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन र त्यसले सिर्जना गरेको अनिश्चितता, भय र त्रासको वातावरणका बीच पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गरिएको बताए। उनका अनुसार लामो संघर्षबाट प्राप्त संविधान र लोकतन्त्र कमजोर बनाउने प्रयास भइरहेको अवस्थामा एमालेले जिम्मेवारीबोधका साथ महाधिवेशन आयोजना गरेको हो।
“जनताले दशकौँको संघर्षबाट प्राप्त गरेको लोकतन्त्र कमजोर पारिएको छ, निर्वाचित प्रतिनिधिसभा विघटन गरिएको छ र मुलुकलाई पछाडि धकेल्ने प्रयास भइरहेको छ। यस्तै चुनौतीपूर्ण घडीमा हामीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गरेका छौँ,” महासचिव पोखरेलले भने।