काठमाडौँ
सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठा अझ उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न संसद् सचिवालयका कर्मचारीहरूलाई आह्वान गरेका छन्।
संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले जनउत्तरदायी, दक्ष र मर्यादित संसदीय अभ्यासको आवश्यकता औँल्याएका हुन्।
आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनमार्फत संसद् सेवाको गठन गरिएको स्मरण गर्दै हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइँदै आएको छ।
सभामुख घिमिरेले संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा संसदीय सेवाको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे। राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था सङ्घीय संसद्लाई प्रशासनिक तथा प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवा लोकतन्त्र सुदृढ गर्ने आधारस्तम्भ भएको उनको भनाइ छ।
उनले भने, “संसद् सेवा लोकतन्त्रको मन्दिर मानिने संसद्लाई सुचारु राख्ने पवित्र जिम्मेवारी हो। राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसद्को आधार हो।”
संसद्को स्वायत्तता कायम राख्दै संसदीय सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउनेतर्फ सबैको सामूहिक प्रयास आवश्यक रहेको विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले पुनः सबै कर्मचारीलाई हार्दिक शुभकामना व्यक्त गरे।