अमेरिका, मङ्सिर २८ गते ।
नर्थ क्यारोलाइनाको सदरमुकाम राले नजिकै रहेको होलिस्प्रिंगमा नेपाली समुदायले नेपालको झण्डासहित मादल घन्काउँदै लाखे नृत्य प्रदर्शन गरेका छन्।
क्रिसमस आउनुभन्दा केही समयअघि टाउन अफ होलिस्प्रिंगले हरेक वर्ष आयोजना गर्ने ‘ह्याप्पी होलिडेज परेड’मा यस वर्ष पहिलोपटक नर्थ क्यारोलाइनामा बसोबास गर्ने नेपालीहरूको सहभागिता रहेको हो। परेडका क्रममा नेपालीहरूले मादल, नेपाली गीत–नृत्य तथा परम्परागत लाखे नाच प्रस्तुत गर्दै आफ्नो सांस्कृतिक पहिचान झल्काएका थिए।
परेडमा करिब एक सय नेपाली सहभागी थिए। सडकको दायाँ–बायाँ खचाखच भरिएका हजारौँ स्थानीय बासिन्दाले मादलको तालमा प्रस्तुत नेपाली नृत्य र लाखे नाचलाई उत्साहपूर्वक स्वागत गरेका थिए। सहभागीमध्ये अधिकांश पुरुषले दौरा–सुरुवाल र महिलाले साडी तथा चोलो लगाएका थिए। करिब दुई किलोमिटर लामो पैदल यात्रा सहित परेड सम्पन्न भएको थियो।
पहिलोपटक सहभागिता जनाएकाले यसपटक संख्या केही सीमित भएको उल्लेख गर्दै एनसीएनसीका अध्यक्ष विकास शाक्यले आगामी वर्षदेखि नियमित रूपमा सहभागिता जनाउने योजना रहेको बताए।
उक्त परेडमा स्थानीय संघसंस्था, विद्यालय, अस्पताल, चर्च, नृत्यशाला तथा सवारी साधनसहित ८२ वटा समूह सहभागी थिए। होलिस्प्रिंग टाउनले सहभागी सबै समूहलाई धन्यवाद दिएको छ।
परेडमा सहभागी क्यारोलले कार्यक्रम भव्य रहेको उल्लेख गर्दै स्थानीय बासिन्दाबाट प्राप्त माया र सद्भावनाप्रति धन्यवाद व्यक्त गरिन्।