काठमाडौँ
नेपालको विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ नाघ्दै १७.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त बनेको छ। रेमिट्यान्स, निर्यात र पर्यटन क्षेत्रको सुधारसँगै बाह्य क्षेत्रका सूचक निरन्तर सबल बन्दै जाँदा विदेशी मुद्रा सञ्चिति पछिल्ला तीन वर्षदेखि हरेक महिना नयाँ कीर्तिमान बनाउँदै आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म कुल विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ, जुन असारको तुलनामा १४.१ प्रतिशतले बढी हो। डलरमा सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ। कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको हिस्सा असार मसान्तको २४ खर्ब १४ अर्ब ६४ करोडबाट कात्तिक मसान्तमा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ।
बाह्य सूचक सबल बन्दै जाँदा सरकारलाई पूर्वाधार, पुनर्निर्माण तथा विकास खर्च विस्तार गर्न अवसर मिलेको राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए। आयात बढे पनि त्यसका लागि पर्याप्त विदेशी मुद्रा उपलब्ध भएकाले अर्थतन्त्रलाई गति दिन खर्च विस्तार गर्नुपर्ने धारणा जानकारहरूको छ।
यसैबीच, उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) कात्तिकमा १.११ प्रतिशतमा सीमित रहेको छ। चार महिनाको औसत मुद्रास्फीति १.५३ प्रतिशत देखिएको छ, जुन गत वर्षको सोही अवधिको ४.५९ प्रतिशतभन्दा निकै कम हो। राष्ट्र बैंकका अनुसार आधार प्रभाव, भारतमा घट्दो मुद्रास्फीति र पेट्रोलियम पदार्थको मूल्य घट्नु मूल्य वृद्धिदर घट्नुका प्रमुख कारण हुन्।
रेमिट्यान्स आप्रवाह उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउन–कात्तिक अवधिमा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। कात्तिक महिनामा मात्र १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।
व्यापारतर्फ निर्यात ७७.५ प्रतिशतले र आयात १८.७ प्रतिशतले बढेको छ। चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँ बचतमा छन्। बैंकिङ प्रणालीमा निक्षेप संकलन ३.१ प्रतिशत र कर्जा विस्तार १.२ प्रतिशतले बढेको छ।
मुख्य तथ्यांक
-
विदेशी मुद्रा सञ्चिति: ३० खर्ब ५५ अर्ब रुपैयाँ
-
आयात धान्ने क्षमता: १७.४ महिना (वस्तु तथा सेवा)
-
उपभोक्ता मूल्य वृद्धिदर: १.११ प्रतिशत
-
रेमिट्यान्स वृद्धि: ३१.४ प्रतिशत
-
निर्यात वृद्धि: ७७.५ प्रतिशत
-
आयात वृद्धि: १८.७ प्रतिशत
-
चालु खाता: २ खर्ब ७९ अर्ब ६५ करोड बचत
-
शोधनान्तर: ३ खर्ब १८ अर्ब ४० करोड बचत