सामुदायिक विद्यालय भन्नासाथ कमजोर पढाइ, राजनीतिक हस्तक्षेप र न्यून व्यवस्थापनको छवि झल्किने धारणा अझै समाजमा विद्यमान छ। तर, मधेस प्रदेशका केही सामुदायिक विद्यालयहरूले यही स्थापित भाष्यलाई क्रमशः चिर्दै गएका छन्। प्रभावकारी नेतृत्व, शिक्षकको सक्रियता र समुदायको सहकार्यले ती विद्यालयहरू निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेका छन्।
यसको उदाहरण हो– जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियामा रहेको गोगल प्रसाद नमुना माध्यमिक विद्यालय। कुनै समय विद्यार्थी अभावले नियमित कक्षा समेत सञ्चालन हुन नसक्ने यो विद्यालय अहिले भर्ना क्षमताभन्दा बढी आवेदन आउने अवस्थामा पुगेको छ।
प्रधानाध्यापकको नेतृत्वले बदलियो विद्यालय
२५ कात्तिक २०७४ मा महावीर दास प्रधानाध्यापक बनेर आएपछि विद्यालयको अवस्था क्रमशः सुधार हुँदै गयो। दासका सामु दुई मुख्य चुनौती थिए– नयाँ विद्यार्थी भर्ना गराउने र पुराना विद्यार्थी टिकाउने। त्यसका लागि उनले सबैभन्दा पहिले अभिभावकको सोच परिवर्तन गर्न थाले।
“गाउँमा सरकारी विद्यालयमा पढाइ हुँदैन भन्ने मानसिकता थियो। मैले अभिभावकसँग निरन्तर संवाद गरेर त्यो भ्रम हटाउने प्रयास गरेँ,” दास भन्छन्, “अभिभावकले विद्यार्थी पठाएपछि हामीले पनि नियमित र गुणस्तरीय कक्षा सञ्चालन गर्यौँ, त्यसपछि विश्वास बढ्दै गयो।”
घर–घरमा पुगेर गरिएको संवाद अभियानले विद्यालयप्रति अभिभावकको विश्वास मात्र बढाएन, विद्यार्थी संख्या पनि उल्लेख्य बढायो। अहिले जनकपुरधाम मात्र होइन, धनुषा, महोत्तरी र आसपासका स्थानीय तहबाट समेत विद्यार्थी आउन थालेका छन्।
विद्यार्थी संख्या उकालो
विद्यालयका अनुसार २०७१ सालतिर करिब ७५ जना विद्यार्थी रहेको यस विद्यालयमा अहिले हजारौँ विद्यार्थी अध्ययनरत छन्। पछिल्ला पाँच वर्षको तथ्यांकले निरन्तर वृद्धि देखाउँछ। २०७८ सालमा दुई हजार २३४ विद्यार्थी रहेकोमा २०८२ सालमा संख्या तीन हजार ८४७ पुगेको छ।
हाल विद्यालयमा ३६ जना दरबन्दीका शिक्षकसहित निजी स्रोतबाट समेत शिक्षक व्यवस्थापन गरिएको छ। विद्यालयसँग ३४ वटा कक्षाकोठा र तीन वटा बस छन्। सामान्य शुल्क लिएर विद्यार्थीलाई ल्याउने–पुर्याउने व्यवस्था मिलाइएको छ।
संस्कृत विद्यालयमा प्रविधिको समावेश
जनकपुरधामकै अर्को सामुदायिक विद्यालय याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) ले पनि उल्लेखनीय प्रगति गरेको छ। १९६६ सालमा स्थापना भएको यस विद्यालय कुनै समय विद्यार्थी अभावले सङ्कटमा परेको थियो।
प्रधानाध्यापक सञ्जयकुमार झाका अनुसार २०७३ सालमा वैदिक शिक्षासँगै प्राविधिक विषय (कम्प्युटर) समावेश गरेपछि विद्यार्थी संख्या बढ्न थालेको हो। अहिले भर्ना खुल्दा करिब १,२०० विद्यार्थीले आवेदन दिने गर्छन्, तर कक्षाकोठा अभावका कारण २००–३०० जनामात्रै भर्ना लिन सकिने अवस्था छ।
विद्यालयमा स्मार्ट बोर्डसहित २२ वटा कक्षाकोठा छन्। टाढाका विद्यार्थीहरू नजिकै कोठा भाडामा लिएर पढिरहेका छन्। पछिल्ला वर्षमा यहाँको विद्यार्थी संख्या पनि निरन्तर बढ्दो छ। २०८२ सालमा विद्यालयमा दुई हजार ३३९ विद्यार्थी अध्ययनरत छन्।
समुदायको विश्वास जित्दै जनता नमुना मावि
विदेह नगरपालिकाको गिद्धाबेलापट्टीस्थित जनता नमुना माध्यमिक विद्यालय पनि सामुदायिक विद्यालय सुधारको अर्को उदाहरण बनेको छ। प्रधानाध्यापक पवन मण्डलको नेतृत्वमा विद्यालयको भर्ना दर तीव्र रूपमा बढेको छ।
२०७८ सालमा चार हजार ३२ विद्यार्थी रहेको विद्यालयमा २०८१ सालमा संख्या छ हजार ४४७ पुगेको थियो। यस वर्ष भौतिक संरचना र जनशक्तिको अभावका कारण नयाँ विद्यार्थी भर्ना लिन नसकिएको विद्यालयले जनाएको छ।
यहाँ ८५ जना शिक्षक कार्यरत छन्, जसमा स्थायी, करार, नगर शिक्षक तथा निजी स्रोतबाट व्यवस्थापन गरिएका शिक्षकहरू समावेश छन्।
समग्र प्रणालीमा सुधारको संकेत
मधेस प्रदेशको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार प्रदेशमा चार हजार ९१३ विद्यालय छन्, जसमध्ये करिब ७० प्रतिशत सामुदायिक विद्यालय हुन्। नेपाल राष्ट्र बैंकको २०८१/८२ को प्रतिवेदनअनुसार मधेसका सामुदायिक विद्यालयमा १३ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
शिक्षण–सिकाइमा सुधार, सूचना प्रविधिको प्रयोग, प्रशासनिक पारदर्शिता, स्थानीय सरकारको सक्रियता र समुदायको सहभागिताले सामुदायिक विद्यालयहरूमा सकारात्मक परिवर्तन सम्भव भएको देखिन्छ। यी विद्यालयहरूको अनुभवले सही नेतृत्व र निरन्तर प्रयास भए सामुदायिक विद्यालय पनि सबल र प्रतिस्पर्धी बन्न सक्छन् भन्ने स्पष्ट सन्देश दिएको छ।