काठमाडौं ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपालमा लगानीका व्यापक अवसर रहेको उल्लेख गर्दै चिनियाँ लगानीकर्तालाई थप लगानी गर्न आग्रह गरेका छन्।
नेपाल–चीन लगानीसम्बन्धी विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा सीईओ ज्ञवालीले ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक तथा औद्योगिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानीका लागि ठूलो सम्भावना रहेको बताए। उनले बजारको दृष्टिकोणबाट नेपाल दक्षिण एसियाको ‘गेटवे’ बन्न सक्ने क्षमता भएको धारणा व्यक्त गरे।
ज्ञवालीले नेपाललाई वैदेशिक लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रस्तुत गर्दै चिनियाँ लगानीले रोजगारी सिर्जना हुनुका साथै दीर्घकालीन साझेदारी विकासमा सहयोग पुग्ने बताए। वैदेशिक लगानीलाई थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र सञ्चालन, परियोजना प्रस्तावहरूको द्रुत स्वीकृति, संस्थागत सुदृढीकरण तथा नीतिगत सुधारमा विशेष जोड दिएको जानकारी पनि उनले दिए।
लगानी बोर्ड नेपाललाई भरपर्दो, प्रतिस्पर्धी र नवप्रवर्तनमा आधारित लगानी गन्तव्यका रूपमा स्थापित गर्न निरन्तर काम गरिरहेको उल्लेख गर्दै ज्ञवालीले आयोजना कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधान गर्न बोर्डले अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रिज एन्ड कमर्स इन नेपाल र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा कृषि, उद्योग, सूचना प्रविधि, निर्माण तथा पर्यटन क्षेत्रमा अनुभव हासिल गरेका चिनियाँ लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।