काठमाडौँ
लक्ष्मी सन्राइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण गर्दै आफ्नो सेवा विस्तार गरेको छ।
विराटनगर महानगरपालिका वडा नम्बर ७ को हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा करिब पाँच किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा नम्बर ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
स्थानान्तरणपछि साविकको हनुमान दास रोडस्थित शाखाका ग्राहकहरूले त्यही स्थानमा रहेको अर्को शाखामार्फत बैंकिङ सेवा लिन सक्नेछन्। शाखा स्थानान्तरणसँगै ग्राहकहरूका लागि बैंकिङ सेवाको पहुँच अझ सहज हुने बैंकको विश्वास छ।
नयाँ स्थानमा सारिएको शाखाले व्यक्तिगत तथा व्यवसायिक ग्राहकहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ।
यसैक्रममा बैंकले आफ्ना सेवा थप व्यवस्थित बनाउन झापाको बिर्तामोडमा रहेका दुई वटा शाखा गाभी साबिक सन्राइज बैंकको स्थान—भद्रपुर लाइन, बिर्तामोड नगरपालिका–४ बाट संयुक्त कारोबार सुरु गरेको छ।
त्यसैगरी, चितवन जिल्लाको भरतपुरस्थित हाकिमचोकमा रहेका दुई शाखा पनि गाभी साबिक लक्ष्मी बैंकको स्थान—हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट सेवा प्रदान गरिने बैंकले जानकारी दिएको छ।
हाल लक्ष्मी सन्राइज बैंकको देशभर ५९ जिल्लामा २५६ शाखा, ३१९ एटीएम, २८ एक्सटेन्सन काउन्टर तथा १३० शाखारहित बैंकिङ एजेन्टमार्फत सेवा सञ्चालनमा रहेका छन्।