काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूलाई लक्षित गरी पछिल्ला दिनहरूमा देखिएका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय बैंकले यस्ता गतिविधिले वित्तीय प्रणालीको स्थायित्व र सेवाको निरन्तरतामा प्रत्यक्ष असर पार्ने भन्दै कडा चेतावनी दिएको हो।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त प्रयासबाट देशभरका स्थानीय तहसम्म बैंकिङ पहुँच विस्तार भइसकेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा सामाजिक सुरक्षा भत्ता, विप्रेषण, बचतलगायत आधारभूत वित्तीय सेवामा अवरोध पुर्याउने कुनै पनि गतिविधि अस्वीकार्य हुने स्पष्ट गरिएको छ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार कर्जा प्रवाह, परियोजनाको अनुगमन तथा कर्जा असुलउपर गर्नु बैंकहरूको प्रमुख दायित्व भएको स्मरण गराइएको छ। बैंकहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप नै कर्जाका रूपमा लगानी गर्ने भएकाले ऋणीले समयमा कर्जा भुक्तानी नगर्दा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या उत्पन्न हुने र समग्र वित्तीय तरलतामा गम्भीर असर पर्ने राष्ट्र बैंकको भनाइ छ।
कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा कठिनाइ आएमा राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना र पुनरतालिकीकरणजस्ता सुविधा उपलब्ध गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ। बैंकिङ कारोबारसम्बन्धी गुनासो भएमा सम्बन्धित बैंक वा राष्ट्र बैंकको गुनासो सुनुवाइ संयन्त्रमार्फत समाधान खोज्न सकिने व्यवस्था रहेको भन्दै आधिकारिक प्रक्रिया नअपनाई गरिने गैरजिम्मेवार गतिविधिले वित्तीय साधनको परिचालनमा समस्या सिर्जना गर्ने चेतावनी दिइएको छ।
अन्त्यमा, वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीविरुद्ध उच्छृङ्खल गतिविधिमा संलग्न हुने व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने जनाउँदै राष्ट्र बैंकले यस्ता गतिविधि तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ। साथै, बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई कुनै पनि प्रकारको दबाब वा त्रास नमानी उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै वित्तीय सेवाको सुरक्षा र निरन्तरताप्रति आफू प्रतिबद्ध रहेको केन्द्रीय बैंकले स्पष्ट पारेको छ।