काठमाडौं।
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा जनाएको प्रतिबद्धताअनुसार देशभरका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार ४२८ ओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।
एनसेलले एनपीएल दोस्रो संस्करणमा हरेक चौका प्रहारमा चार ओटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार यस वर्ष एनपीएलका क्रममा ९९ जना खेलाडीले प्रहार गरेका कुल ६०७ ओटा चौकाको आधारमा २,४२८ ओटा शैक्षिक सामग्री वितरण गर्न लागिएको हो।
यो सिजनमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ ओटा चौका प्रहार गरेका थिए। त्यसैगरी, लुम्बिनी लायन्सका डार्सी सर्टले २६ तथा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ ओटा चौका प्रहार गरेका थिए।
विद्यार्थीहरूलाई आवश्यक शैक्षिक स्रोतको अभाव कम गर्दै सिकाइ प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले एनसेलले यो पहल गरेको जनाएको छ। एनसेलले वितरण गर्ने प्रत्येक शैक्षिक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजरलगायत अध्ययनका लागि आवश्यक आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुनेछन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले यस सामाजिक पहलमा योगदान पुर्याउने सबै खेलाडीहरूलाई धन्यवाद व्यक्त गर्दै भनिन्, “खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले मैदानमा टिमलाई मात्र होइन, हरेक चौकाले विद्यार्थीहरूको पठनपाठनमा पनि सकारात्मक प्रभाव पारेको छ। गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै शैक्षिक सामग्रीको सबैभन्दा बढी आवश्यकता भएका सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी वितरण गरिनेछ।”
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदारका रूपमा रहेको थियो। कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। साथै, समग्र प्रतियोगितामा सबैभन्दा बढी चौका हान्ने पोखरा एभेन्जर्सका एडम रोसिङ्टनलाई दुई लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।