काठमाडौं ।
एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर (करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ। यससम्बन्धी ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो।
अर्थ मन्त्रालयका अनुसार यो ऋण नीतिमा आधारित ऋण (Policy Based Loan) का रूपमा उपलब्ध गराइएको हो। ऋणको ग्रेस अवधि ८ वर्ष रहनेछ भने कुल भुक्तानी अवधि २४ वर्षको हुनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहने यस ऋणमा ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत र त्यसपछि १.५ प्रतिशत रहने व्यवस्था गरिएको छ।
ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले यस कार्यक्रमको उद्देश्य नेपालको खर्च व्यवस्थापन, वित्तीय अनुशासन तथा अन्तरसरकारी स्रोत व्यवस्थापनमा सुधार गर्नु रहेको बताए।
एडीबीका नेपाल निर्देशक कुश्वा र अर्थ सचिव उपाध्यायले नेपाल–एडीबी सहकार्यलाई आगामी दिनमा अझ निरन्तर र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार यस कार्यक्रमले सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाह सुदृढ बनाउन सहयोग गर्नेछ। साथै, यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।