महेन्द्रनगर।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजना तथा महाकाली नदीमाथि निर्माणाधीन चार लेन पुलको स्थलगत निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको हालसम्मको प्रगति र देखिएका समस्या बारे मन्त्री घिसिङलाई जानकारी गराउनुभएको थियो। लामो समयदेखि प्रक्रियागत अल्झनका कारण सिँचाइ आयोजना र पुलसँग सम्बन्धित संरचनाको निर्माण कार्य प्रभावित भएको जनाइएको छ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने करिब पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने संरचना तयार भइसकेका छन्। तर टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा स्थानीय किसानले हालसम्म सिँचाइ सुविधा पाउन सकेका छैनन्।
सो अवसरमा मन्त्री घिसिङले सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिनुभयो। “महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाटै भारतसँग पहल भइरहेको छ,” उहाँले भन्नुभयो, “यहाँको समस्याबारे जानकारी छ, समाधानका लागि लाग्छौँ।”
त्यसैगरी भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै निर्माण गरिनुपर्ने कृतिम ताल र तटबन्धको काम मन्त्रिपरिषद् स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि ठप्प रहेको छ। यसअघि निर्माण गरिएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइन परिवर्तन गरिएको भए पनि नयाँ डिजाइन हालसम्म स्वीकृत हुन सकेको छैन।
मन्त्री घिसिङले तटबन्ध निर्माण नहुँदा बाढीको जोखिम बढेको उल्लेख गर्दै बर्सात सुरु हुनु अघि नै समस्या समाधान हुने गरी आवश्यक काम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।