काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षण कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ। महालेखा परीक्षकको कार्यालयका निर्देशक मुकुन्द घिमिरेको नेतृत्वमा खटिएको टोलीले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग प्रवेश बैठक गर्दै लेखा परीक्षण प्रक्रिया प्रारम्भ गरेको हो।
प्रवेश बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले गरेका कामबारे स्पष्ट सञ्चार नहुँदा तथा मागिएका विवरण समयमै उपलब्ध नगराउँदा बेरुजुको मात्रा बढ्ने गरेको उल्लेख गर्दै सम्बन्धित विभागीय प्रमुखहरूलाई माग गरिएका विवरण, आधार, प्रमाण र कारण तत्काल उपलब्ध गराउन निर्देशन दिए।
बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले महानगरपालिकाको सङ्गठन संरचना, दरबन्दी, सेवा विस्तारमा खटाइएका जनशक्ति, जारी गरिएका कानुन, अधिकार प्रत्यायोजनको अवस्था तथा वित्तीय सुशासनका लागि आन्तरिक नियन्त्रण प्रणालीबारे जानकारी गराउँदै माग गरिएका कागजात तत्काल उपलब्ध गराउन आवश्यक जनशक्ति परिचालन गरिने बताए।
महालेखा परीक्षकको कार्यालयका निर्देशक घिमिरेले अन्तिम लेखा परीक्षणसँगै समपरीक्षणको काम पनि सँगै अघि बढाइने जानकारी दिँदै समपरीक्षणबाट विगतका बेरुजु घट्ने सम्भावना रहेको बताए। उनले पेस्की बेरुजु र राजस्व बेरुजु घटाउन विशेष ध्यान दिनुपर्ने सुझावसमेत दिए।
अन्तिम लेखा परीक्षणका क्रममा वित्तीय विवरण, अघिल्ला परीक्षणबाट औँल्याइएका विषय, सुधारका लागि दिइएका सुझाव, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनबमोजिमका प्रक्रिया र पद्धतिहरूको परीक्षण गरिनेछ। साथै, वित्तीय जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परीक्षणको प्रभावकारिता र वित्तीय जोखिमको अवस्थाको समेत मूल्याङ्कन गरिनेछ।
केन्द्र र ३२ वडासहित खर्च हुने स्थानबाट सञ्चित रकम खर्च गर्दा अपनाउनु पर्ने नियमितता, मितव्ययिता र कार्यदक्षताको परीक्षण गर्ने गरी लेखा परीक्षण योजना बनाइएको छ। महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी तीन चरणमा लेखा परीक्षण गर्दै आएको छ।
आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजनासहित ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार गरिनेछ।
न्यौपानेका अनुसार गत आर्थिक वर्षमा विनियोजित २५ अर्ब ८६ करोड ५२ लाख रुपैयाँमध्ये ५२.१२ प्रतिशत अर्थात् १३ अर्ब ३ करोड ६९ लाख १३ हजार रुपैयाँ खर्च भएको छ। यसमध्ये चालुतर्फ ६ अर्ब २२ करोड ९० लाख १६ हजार रुपैयाँ, पूँजीगततर्फ ६ अर्ब ७३ करोड ७८ लाख ९६ हजार रुपैयाँ तथा वित्तीय खर्चतर्फ ७ करोड रुपैयाँ खर्च भएको छ।
यस वर्ष आर्थिक विकास क्षेत्रमा ३७.६७ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४७.९१ प्रतिशत, पूर्वाधार विकास क्षेत्रमा ५२.५२ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २८.८८ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ७७.०२ प्रतिशत खर्च भएको महानगरपालिकाले जनाएको छ।