नेकपा एमालेको अध्यक्षमा तेस्रोपटक केपी शर्मा ओली निर्वाचित भएपछि नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले कडा प्रतिक्रिया जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ओली र एमाले अझै जनताको कठघरामा उभिन बाँकी नै रहेको टिप्पणी गरेकी हुन्।
उनले एमालेको महाधिवेशनले भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरेको आरोप लगाएकी छन्। “उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरे। उनीहरू जनताको कठघरामा उभिएका छैनन्,” उनले लेखेकी छन्।
रक्षाले जनताको विश्वास अझै प्राप्त गर्न बाँकी रहेको उल्लेख गर्दै युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाइसकेको र आगामी दिनमा जनताले ब्यालेट बक्समार्फत जवाफ दिने दाबी गरेकी छन्। “जनताले विश्वास दिन त बाँकी नै छ। युवाहरूले आफ्नो आवाज भदौ २३ मा सुनाए, जनताले ब्यालेट बक्समा सुनाउने छन्,” उनले भनिन्।
उनले तानाशाही प्रवृत्तिको पनि कडा आलोचना गरेकी छन्। “तानाशाहलाई उसका आसेपासेले बलियो बनाइरहेका होलान्। आखिर उनीहरूले बादशाहको नयाँ पोसाकलाई उम्दा छ भन्नैपर्छ,” भन्दै उनले चेतनशील र नडराएका नागरिकहरू भने “बादशाह नांगो छ” भनेर निरन्तर आवाज उठाइरहेको उल्लेख गरेकी छन्।
इतिहासले क्रूर तानाशाहहरूलाई सधैं आक्रोश र घृणाका साथ मूल्याङ्कन गरेको स्मरण गराउँदै उनले सत्ताका हिस्सेदारहरूलाई त्यसबाट पाठ सिक्न आग्रह गरेकी छन्।