काठमाडौं ।
यस वर्ष काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयहरूले नाम परिवर्तन गरेका हुन् भन्ने जानकारी कामपा शिक्षा विभागले दिएको छ ।
कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार हाल काठमाडौं महानगरपालिकाभित्र आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय चार वटा, वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा र संस्थागत विद्यालय ४२५ वटा गरी जम्मा ७८४ वटा शैक्षिक संस्था सञ्चालनमा रहेका छन् ।
यसैगरी, शैक्षिक सत्र २०८१ मा काठमाडौं महानगरपालिकाअन्तर्गतका विद्यालयबाट ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन् । छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५ जना, दलित छात्रवृत्तिमा एक हजार ३२२ जना तथा अपाङ्ग र आवासीय छात्रवृत्तिमा ४५५ जना विद्यार्थी लाभान्वित भएका छन् ।
त्यस्तै, संस्थागत विद्यालयतर्फ कक्षा १ देखि १० सम्म १९ हजार ३०६ जना तथा कक्षा ११ र १२ मा तीन हजार ८०१ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका ज्ञवालीले जानकारी दिए ।
शिक्षा क्षेत्रका लागि यस वर्ष तीन अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ५३.८ प्रतिशत अर्थात् एक अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ ।
आन्तरिकतर्फका नियमित कार्यक्रमका लागि एक अर्ब चार करोड ८५ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख पाँच हजार रुपैयाँ खर्च भएको छ । ‘गरीखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि विनियोजित ६० करोड रुपैयाँमध्ये पाँच करोड एक लाख ६६ हजार रुपैयाँ अर्थात् ८.४ प्रतिशत मात्र खर्च भएको महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी, शिक्षा क्षेत्रका स्वर्णिम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएकोमा चार करोड ३२ लाख रुपैयाँ अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ । सङ्घीय सशर्त अनुदानअन्तर्गत प्राप्त एक अर्ब ४२ करोड ३४ लाख ५० हजार रुपैयाँमध्ये ९२.९ प्रतिशत अर्थात् एक अर्ब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएको पनि कामपाले जनाएको छ ।