काठमाडौं ।
सरकार गठनको १०० दिन पूरा भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याउँदै युवालाई सडकको आक्रोश मतपत्रमार्फत व्यक्त गर्न आह्वान गरेकी छन्।
शनिबार देशवासीका नाममा जारी विशेष भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले जेन्जी आन्दोलनको मर्म आत्मसात् गर्दै सुशासन र निर्वाचनलाई सरकारको ‘अर्जुन दृष्टि’ बनाइएको बताइन्। शान्ति र स्थिरताबाटै समृद्धिको ढोका खुल्ने उल्लेख गर्दै उनले लोकतान्त्रिक निकासको मार्ग निर्वाचन नै भएको स्पष्ट पारिन्।
प्रधानमन्त्री कार्कीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे कुनै भ्रम नपाल्न आग्रह गरिन्। ‘चुनाव सार्ने वा रोक्ने हल्ला पूर्णतः निराधार हुन्,’ उनले भनिन्, ‘यो निर्वाचन देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने निर्विकल्प मार्ग हो।’ सरकार निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन ‘चट्टानझैँ दृढ’ रहेको उनको भनाइ छ।
निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको प्रधानमन्त्रीले जानकारी दिइन्। आन्दोलनका क्रममा लुटिएका १ हजार ३ सय ४२ थान हतियारमध्ये अधिकांश बरामद भइसकेको र थप ३२ थान अवैध हतियार नियन्त्रणमा लिइएको उनले बताइन्। क्षतिग्रस्त ४६५ प्रहरी कार्यालय पुनर्निर्माण गरी सुरक्षा संयन्त्रलाई चुस्त बनाइएको तथा निर्वाचनका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ।
युवा पुस्तालाई लक्षित गर्दै प्रधानमन्त्रीले भनिन्, ‘सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ।’ यसपटक मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार दिइएको उल्लेख गर्दै उनले अब १ करोड ८१ लाखभन्दा बढी मतदाताले देशको भविष्य कोर्ने बताइन्।
सन्देशमा प्रधानमन्त्री कार्कीले पछिल्ला १०० दिनमा शान्ति स्थापना, कानुनको शासन बहाली, भ्रष्टाचार नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको दाबी गरिन्। अनावश्यक खर्च कटौती, कार्यालय खारेजी, दरबन्दी कटौती, बजेट पुनःप्राथमिकिकीकरण, व्यवसायी पुनरुत्थान योजना, ‘हेलो सरकार’मार्फत गुनासो समाधान, मेलम्ची पानी आपूर्ति र विद्युत् उत्पादन वृद्धिलगायत उपलब्धि उनले उल्लेख गरिन्।
अन्त्यमा प्रधानमन्त्रीले निर्वाचनलाई राष्ट्रिय एकताको ‘अनुष्ठान’का रूपमा सम्पन्न गर्न आह्वान गर्दै भनिन्, ‘चुनावमा कसले जित्छ वा हार्छ भन्ने गौण हो; लोकतन्त्र र राष्ट्रियताको जित नै सर्वोपरि हो।’