पुस, काठमाडौं
राजनीतिक विश्लेषक विष्णु सापकोटाले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले भदौ २३ र २४ मा देखिएको ‘जेन–जी विद्रोह’लाई पूर्ण रूपमा बेवास्ता गरेको टिप्पणी गरेका छन्।
एमालेको महाधिवेशनबाट केपी शर्मा ओली तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि नयाँ नेतृत्व र समग्र महाधिवेशनबारे प्रतिक्रिया दिँदै सापकोटाले भने, “यो देशमा भदौ २३–२४ मा भएको विद्रोहलाई यो महाधिवेशनले ‘नोट’ गरेन। एमालेका महाधिवेशन प्रतिनिधिले त्यसलाई नोट नगर्नु नै मुख्य राजनीतिक सन्देश हो।”
उनका अनुसार, नयाँ नेतृत्व चयनले ‘जेन–जी विद्रोह’पछि पनि उही नेतृत्व पुनः निर्वाचित भएको तथ्य बाहेक अन्य विशेष अर्थ बोकेको देखिँदैन। २०७८ सालमा सम्पन्न १०औँ महाधिवेशनसँग तुलना गर्दा, यसपटक अर्को प्यानलबाट प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको बाहेक ठोस भिन्नता नदेखिएको सापकोटाको भनाइ छ।
“यो हामी सच्चिनेवाला छैनौँ, हामी गलत छैनौँ र सच्चिनेवाला पनि छैनौँ भन्ने सन्देश देखियो,” सापकोटाले भने, “महाधिवेशन प्रतिनिधिमा स्वतन्त्र चेत देखिएन।”
समाजले राजनीतिक दलबाट ठूलो परिवर्तन अपेक्षा गरे पनि एमालेको महाधिवेशनले त्यसलाई आत्मसात गर्न नसकेको सापकोटाको विश्लेषण छ। “समाजले ठूलो परिवर्तन खोजेको थियो, त्यसको स्वरूप कसरी हुने भन्ने अलग कुरा हो,” उनी भन्छन्, “तर समाजले खोजेको परिवर्तनको छनक एमालेको महाधिवेशनमा देखिएन। यो निराशाजनक कुरा हो।”
उनका अनुसार, जेन–जी विद्रोहले उठाएको सुशासनको एजेन्डा नयाँ नेतृत्वले आत्मसात गर्ने संकेत पनि देखिँदैन। यद्यपि, प्रतिस्पर्धी प्यानलबाट उम्मेदवारी परेको कारण आन्तरिक लोकतन्त्रको झिनो झलक देखिएको उनले स्वीकार गरेका छन्।
अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले प्राप्त गरेको मतलाई सापकोटाले “उकुसमुकुसको मत प्रस्फुटन”को रूपमा व्याख्या गरेका छन्। दलमा रूपान्तरणका लागि नयाँ र सक्षम अनुहार आवश्यक भए पनि महाधिवेशनले पुरानै नेतृत्वलाई अनुमोदन गरेको उनको निष्कर्ष छ।
सापकोटाका अनुसार, एमालेको नयाँ नेतृत्व चयनले पुराना राजनीतिक दलहरू परिवर्तन नगरे पनि हुने सन्देश दिएको छ। “पुराना दल नसुध्रिए पनि हुने बल एमाले महाधिवेशनले दिएको छ,” उनले टिप्पणी गरे।