काठमाडौँ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू सबैतिरबाट आउने आलोचना सहने अचानो नभएको स्पष्ट पारेकी छन्। सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि जेनजीदेखि राजनीतिक दलसम्मबाट निरन्तर आक्षेप आइरहेको उल्लेख गरिन्।
उनले विगतका गल्ती र कमजोरीका कारण गत भदौ २३ र २४ गते भएका घटना आवेगजन्य भएको बताउँदै त्यसको असर अहिले सरकारले खेपिरहेको भनाइ राखिन्। मुलुकको हितका लागि आइरहेका सबै प्रकारका आलोचना सहन सरकार तयार रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले देशको सर्वोच्च शक्ति राजनीतिक दल नभई जनता भएको स्पष्ट पार्दै राजनीतिक दलहरू जनताको सेवाका लागि बनेका संस्था भएको बताइन्। जनताले खोजेको परिवर्तनलाई बुझेर दलहरू आत्मसमीक्षा गर्न आवश्यक रहेको उनको जोड थियो।
उनले भनिन्, “यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हुन्। राजनीतिक दलभित्र भागबण्डा नमिलेको वा आपसी असमझदारीको नकारात्मक असर जनतामाथि पार्न हुँदैन। जनताको भावना बुझ्नु आजको आवश्यकता हो।”
भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा हत्या र हिंसा भएको तथा नाबालकसमेत मारिएको घटनाले जनमानसमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले जेनजी र युवापुस्ताले के खोजिरहेका छन् भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताइन्।
“मेरो गोरुको बाह्रै टक्का भन्ने सोचले न देश चल्छ न परिवर्तन सम्भव हुन्छ,” उनले भनिन्, “जनताले परिवर्तन खोजेका छन् भने राजनीतिक दलहरू पनि सच्चिनै पर्छ।”
प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार जेनजीको रगतमा ऐस–आराम गर्न नआएको स्पष्ट पार्दै विगतमा केही दलहरूले मस्ती गरे पनि आफूहरूले कुनै सुविधा नलिएको दाबी गरिन्।
उनले सबै राजनीतिक दलहरू शान्तिका पक्षमा एकताबद्ध भए कुनै पनि अराजक तत्वले मुलुकमा अस्थिरता फैलाउन नसक्ने जिकिरसमेत गरिन्।