काठमाडौँ
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा (साउन–मंसिर) नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने निर्यात १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ। आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको भन्सार विभागको मासिक प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले बढेको छ। तर वस्तु निर्यातभन्दा आयात धेरै भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा रहेको विभागले जनाएको छ।
आयाततर्फ कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामजन्य सामग्री, स्मार्टफोन, डाइअमोनियम हाइड्रोजन अर्थोफोस्फेट र सुन प्रमुख छन्। निर्याततर्फ भने प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, फेल्टका सामग्री र पाम तेल अग्रस्थानमा छन्।
चार महिनामै ४६ अर्ब ९७ करोड रुपैयाँको कच्चा भटमासको तेल आयात हुँदा ४६ अर्ब ५५ करोड रुपैयाँको प्रशोधित भटमास तेल निर्यात भएको छ। तेस्रो मुलुकबाट आयात गरिएको सोयाबिन नेपालमा प्रशोधन गरी भारत निर्यात हुने भएकाले निर्यातको आँकडा बढेको देखिए पनि दीगो रोजगारी र अर्थतन्त्रमा ठोस योगदान नपुगेको पूर्वसहसचिव रविशंकर सैंजुले बताए। “४६ अर्बको आयात गरेर ४६ अर्बकै निर्यात हुँदा अंक बढे पनि मूल्यवर्द्धन सीमित रहन्छ,” उनले भने।
इन्धन आयातले व्यापार घाटा बढाउन ठूलो भूमिका खेलेको छ। चार महिनामा मात्रै ४५ अर्ब ६० करोड रुपैयाँको डिजेल, २७ अर्ब ३३ करोडको पेट्रोल र २२ अर्ब ३९ करोड रुपैयाँको एलपी ग्यास आयात भएको छ। सरकारले विद्युतीय सवारी र विद्युतीय चुलोमार्फत आयात प्रतिस्थापनको प्रयास गरे पनि अपेक्षित प्रभाव देखिएको छैन।
आन्तरिक उत्पादनतर्फ अलैंची र गलैंचा जस्ता वस्तु निर्यात भए पनि ठूलो परिमाणमा उत्पादन र प्रशोधन नहुनु चुनौती बनेको छ। पाँच महिनामा ५ अर्ब ५३ करोडको अलैंची र ४ अर्ब १३ करोड रुपैयाँको गलैंचा निर्यात भएको छ। “अलैंची कच्चा पदार्थकै रूपमा भारत जाने अवस्था छ,” सैंजुले भने, “उत्पादन विस्तार र प्रशोधन दुवै कमजोर छन्।”
नेपालले १४८ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएको छ। तीमध्ये ३४ मुलुकसँग नाफा र ११४ मुलुकसँग घाटाको व्यापार छ। डेनमार्क, रोमानिया, स्विडेन, नर्वे लगायतसँग नाफा भए पनि भारत र चीनसँग व्यापार घाटा ठूलो छ। पाँच महिनामा भारतबाट ४ खर्ब ३४ अर्ब रुपैयाँको आयात हुँदा ९५ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ भने चीनबाट १ खर्ब ६३ अर्ब ७३ करोड आयात हुँदा निर्यात ४६ करोड ६८ लाख रुपैयाँ मात्रै छ।
नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माका अनुसार आन्तरिक उत्पादनअनुसार बजार पहिचान र उत्पादनमा नवीनता नआउँदा निर्यात विस्तार हुन सकेको छैन। “परम्परागत उत्पादन र उस्तै बजारमा निर्भरता तोड्न नसक्दा निर्यात दिगो बन्न सकेको छैन,” उनले भने।