काठमाडौँ ।
नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र अनावश्यक तरंग सिर्जना नगर्न आग्रह गरेका छन् । हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि देखिएका बहस, प्रतिस्पर्धा र त्यसपछिका भेटघाटलाई लिएर सार्वजनिक टिप्पणीहरू बढिरहेका बेला उनले पार्टी एकता, विधि र आत्मसम्मानको पक्षमा स्पष्ट धारणा राखेका हुन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्ट्याटसमा पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वविरुद्ध कसैबाट पनि असंवैधानिक वा संस्थागत निर्णयविपरीत कुनै गतिविधि नहुने स्पष्ट पारेका छन् । विगतमा पार्टीभित्रका विवादले निम्त्याएका नकारात्मक र नोक्सानदायी परिणामको स्मरण गर्दै उनले अहिले पनि त्यही त्रासदीपूर्ण अनुभवको ‘भूत’ बाट डराइरहनु उपयुक्त नहुने बताएका छन् ।
नेतृत्व चयनमा सर्वसम्मति हुन नसक्नुका कारणतर्फ संकेत गर्दै पोखरेलले सर्वसम्मतिका लागि नेतृत्वबाट ठोस पहल नदेखिएको अनुभूति धेरै प्रतिनिधिले गरेको उल्लेख गरेका छन् । समूह–समूहमा विभाजित भएर प्रतिस्पर्धामा जाँदा पार्टी जीवनको लोकतान्त्रीकरणसँग सम्बन्धित विषयहरू ‘अवधारणा पत्र’मार्फत खुला रूपमा उठाइएको र ती विषय महाधिवेशनको बन्दसत्रमै प्रस्तुत भइसकेकाले लुकाउनुपर्ने केही नभएको उनको भनाइ छ ।
पोखरेलले महाधिवेशनले दिएको निष्कर्ष सबैले मान्नुपर्ने कर्तव्य भएको उल्लेख गर्दै नेतृत्वबाट कार्यकर्ताले आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहारको अपेक्षा गर्ने स्पष्ट पारेका छन् । कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति दोहोरिए त्यसले फेरि अप्रिय र नोक्सानदायी परिणाम निम्त्याउन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
‘संस्थागत गरिएका (वा गरिने) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता–कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,’ उनले लेखेका छन्, ‘कसैलाई काखा कसैलाई पाखा नगरियोस् भन्ने आशा र अपेक्षा स्वाभाविक हो । त्यस्तो नहुँदा वा हुन नसक्ता त्यसप्रति असहमति वा विरोध हुनु अस्वाभाविक होइन ।’
उनले पार्टी रूपान्तरणका लागि निरन्तर बहस र छलफल, आधिकारिक तथा संस्थागत निर्णयको पालना, व्यवहारमा विभेदको अन्त्य र पार्टी विभाजनको दृढ विरोध अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । आग्रह–प्रेरित कटाक्ष र अनावश्यक आलोचनाले पार्टी र आन्दोलनलाई लाभ नभई नोक्सान मात्र पुर्याउने भन्दै सबैलाई संयमित र जिम्मेवार हुन उनले आग्रह गरेका छन् ।
उल्लेखनीय छ, हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । महाधिवेशनपछि पोखरेल समूहको काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा भएको भेलालाई लिएर सार्वजनिक टिप्पणीहरू बढेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।