गण्डकी प्रदेशमा रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका ढकाल परिवार भने स्वदेशमै व्यावसायिक कृषिमा रमाइरहेका छन्।
दिनेश ढकालको नेतृत्वमा उनका बुबा पिताम्बर, आमा तारा र श्रीमती सदिक्षासहित परिवारका सबै सदस्य मिलेर ‘डिटिपिएस कृषि फार्म’ सञ्चालन गर्दै आएका छन्। परिवारभित्रको सहकार्य र निरन्तर मेहनतले व्यावसायिक कृषिमा सफलता हासिल गर्न सकिएको उनीहरूको भनाइ छ।
ढकाल परिवारले २०४० सालदेखि परम्परागत रूपमा गर्दै आएको सुन्तला खेतीलाई विस्तार गर्दै २०७४ सालमा फार्म दर्ता गरी व्यावसायिक कृषि सुरु गरेको हो। हाल उनीहरू सुन्तलाखेतीसँगै कालिजपालन, अदुवा र अकबरे खुर्सानी खेतीमा संलग्न छन्। फार्ममार्फत उनीहरूले परिवारका सदस्यबाहेक अन्य तीन जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन्।
हाल १४ रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगानबाट मात्रै वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको दिनेश ढकालले जानकारी दिए। फार्ममा साना–ठूला गरी करिब एक हजार बोट रहेकामा २५० बोटमा नियमित रूपमा फल लाग्ने गरेको छ। राम्रो उत्पादन हुने बोटबाट एउटै सिजनमा २० क्रेटसम्म सुन्तला फल्ने गरेको उनी बताउँछन्।
सात वर्षअघि सुरु गरिएको व्यावसायिक कालिजपालन पनि अहिले फस्टाउँदै गएको छ। फार्ममा हाल करिब १३ हजार कालिज छन्। तीन वर्षअघि जापान जाने तयारीमा रहेका दिनेशले कालिजपालनबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्यागेको बताए।
बजारमा प्रति भाले कालिज दुई हजार ५०० र पोथी एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। २०७६ सालमा सय वटा कालिजबाट सुरु गरिएको व्यवसाय आज ठूलो स्वरूप लिइसकेको छ।
‘व्यावसायिक कालिजपालनमा धेरै सम्भावना छ। स्वदेश मात्र होइन, चीन र दुबईजस्ता मुलुकमा समेत यसको माग उच्च छ,’ दिनेश भन्छन्, ‘राज्यले प्रोत्साहन गर्ने हो भने यही व्यवसायबाट १५० जनासम्मलाई रोजगारी दिन सकिन्छ।’
तीन वर्षयता सुन्तलाबगानभित्र अकबरे खुर्सानी र अदुवा खेती पनि गर्दै आएका छन्। अकबरे खुर्सानी वार्षिक छ–सात क्विन्टलसम्म उत्पादन हुने गरेको छ। यसको मूल्य होलसेलमा प्रतिकेजी २५० रुपैयाँदेखि खुद्रामा ४०० रुपैयाँसम्म पर्छ। यसबाट मात्रै वार्षिक करिब तीन लाख रुपैयाँ आम्दानी हुने गरेको ढकालले बताए।
सुन्तलाखेती, कालिजपालन, अकबरे खुर्सानी र अदुवासहित हाल फार्म २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। यति लामो समयदेखि व्यावसायिक कृषि गर्दै आए पनि राज्यबाट अपेक्षित प्राविधिक सहयोग नपाएको गुनासो ढकाल परिवारको छ।
‘प्राविधिक सहयोगका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायको चासो देखिएन,’ दिनेशले भने, ‘केही गर्छु भन्ने युवालाई राज्यले प्रोत्साहन नगर्ने हो भने उनीहरूलाई स्वदेशमै रोक्न गाह्रो हुन्छ।’
ढकाल परिवारको यो पहल स्वदेशमै श्रम, सीप र सम्भावनालाई उपयोग गर्न सकिने उदाहरण बनेको छ।