काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपिओ) बिक्री खुला गर्ने भएको छ।
संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न लघुवित्तले एफपिओ निष्कासन गर्न लागेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपछि कम्पनीको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। हाल कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको छ।
सोही अनुपात मिलाउन कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा ४ लाख ६६ हजार ८१७ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने जनाएको छ। यस एफपिओको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको छ।
एफपिओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा आवेदन अवधि माघ ५ गतेसम्म थपिने कम्पनीले जनाएको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी एटदरेट’ प्रदान गरेको छ, जसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
एफपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
यसका साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।