काठमाडौँ : प्राचीन स्वरूपमा पुनःउत्थान गर्ने योजनाअनुसार काठमाडौँ महानगरपालिकाले करिब २५ वर्षदेखि थुनिएको सुन्धाराको पानी निकास खुला गरेको छ। पशुपति क्षेत्रको जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द ढल निकास हालै खोलिएको हो।
वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतका अनुसार पुस ६ र ९ गते रातभर गरिएको प्रयासपछि पुस १० गते बिहान पाइप जडान गरी पानीको निकास पुनः सञ्चालन गरिएको हो। उक्त ढुङ्गेधारा लिच्छवीकालीन संरचना रहेको उनले जानकारी दिए।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गतका अनुसार, प्रारम्भमा यो ढुङ्गेधाराबाट पानी निकासका लागि बनाइएको ढल यति ठूलो थियो कि मानिस पसेर सफाइ गर्न सकिन्थ्यो। तर सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्ने क्रममा मौलिक र परम्परागत ढल संरचना नष्ट गरी पाइप राखिएपछि करिब २५ वर्षअघि सुन्धाराबाट पानीको निकास बन्द भएको थियो।
उनले विगत १० वर्षअघि पनि निकास खोल्ने प्रयास गरिएको भए पनि सफल हुन नसकेको उल्लेख गर्दै यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित रूपमा काम गरेपछि निकास खुलाउन सम्भव भएको बताए।
पानीको निकास खुलेपछि अब सुन्धारालाई सम्पूर्ण रूपमा पुनःस्थापना गर्ने योजना रहेको सङ्गतले बताए। “यो केवल पानीको धारो मात्र होइन, नेवार सभ्यताको पहिचान हो। जल व्यवस्थापन प्रणाली र प्राचीन इन्जिनियरिङको जीवन्त उदाहरण भएकाले यसलाई मौलिक स्वरूपमै पुनःस्थापित गरिनेछ,” उनले भने।
सुन्धारा वास्तुकलात्मक दृष्टिले समेत महत्वपूर्ण रहेको बताइन्छ। ढुङ्गामा कलात्मक वुट्टा कुँदिएका छन् भने विभिन्न स्थानमा देवी–देवताका मूर्तिहरू राखिएका छन्। जयवागीश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यका अनुसार, यस धारामा गणेश र भैरवलाई द्वारपालका रूपमा राखी जयवागीश्वरी माताले स्नान गर्ने गरेको धार्मिक विश्वास छ। हाल पनि माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध पानी प्रयोग गर्ने परम्परा छ।
स्थानीय बासिन्दा मुकुन्दराज वैद्यका अनुसार लिच्छवीकालीन राजा नरेन्द्रदेवले जनताको कल्याणका लागि जयवागीश्वरी माताको आह्वान गरेका थिए। शिवजीको आशीर्वाद प्राप्त गरी मानसरोवरबाट जयवागीश्वरी यहाँ अवतरित भएको र शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार स्नानका लागि शिला नदीकै पानी यहाँ ल्याइएको जनविश्वास रहेको उनले बताए। जयवागीश्वरी माताको दर्शन गर्दा मुखको नभई पाउको दर्शन गर्ने परम्परा समेत रहिआएको वैद्यले उल्लेख गरे।