महोत्तरी
सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रूपमा विभेदमा परेका मधेशका महिलाहरू अब सङ्गठित हुँदै सामूहिक आवाजमा देखिन थालेका छन्। महोत्तरीमा महिला सशक्तीकरण अभियानमा संलग्न महिलाहरूले समान अनुभव बाँड्दै, सङ्गठन र सामूहिक आवाजले मात्रै अधिकार सुनिश्चित गर्न सकिन्छ भनी अनुभव गरेका छन्।
रामगोपालपुर–९ गोठबनौलीकी बनिहारा (श्रमिक महिला) ४० वर्षीया फुलोदेवी शर्माले आफ्नो जीवनका हण्डर सम्झँदै भनिन्, “मेरो मात्र कुरा होइन, हामी दबिएका जोसुकै महिलाका लागि सङ्गठन र सामूहिक आवाज नै शक्ति रहेछ। समाजमा भोगिएको अपहेलना र पाइलापाइलामा भोगिएको विभेद् सशक्त रुपले उठाउन सङ्गठनले नै सिकायो।”
फुलोदेवीले आफ्नो विगतको संघर्ष सुनाउँदै भनिन् कि पति र परिवारको असहयोग, गरीबि र सामाजिक भेदभावले जीवन निकै चुनौतीपूर्ण बनेको थियो। घरको अन्न नहुँदा इँटाभट्टामा काम गर्न जानुपर्ने स्थिति, कामबापत पुरुष र महिलाबीच पारिश्रमिकमा भिन्नता, र विरोध गर्दा पाएको धम्कीले उनलाई साहसिक कदम चाल्न प्रेरित गर्यो।
उनका अनुसार बस्तीबस्तीमा महिला सचेतना कार्यक्रमले महिलाहरूलाई समूह बनाएर आफ्नो अधिकारका लागि आवाज उठाउन सिकायो। “स्थानीय अधिकार कार्यक्रमले हामीलाई सङ्गठित हुन प्रेरित गर्यो, हामीले सरकारी अड्डा र स्थानीय तहसहितका ठाउँमा महिलाप्रति हुने विभेद्काविरुद्ध ज्ञापनपत्र दिन थाल्यौँ,” फुलोदेवीले भनिन्।
रामगोपालपुर नगर क्षेत्रमा हाल आठ वटा महिला समूह सक्रिय छन्। यी समूहले १९७ महिलालाई सङ्गठित गर्दै, राज्यले प्रदान गरेको विशेष सुविधाबारे जानकारी दिँदै अधिकार सुनिश्चित गर्न दबाब दिने काम गर्दै आएका छन्। लक्ष्मीपुरकी ४५ वर्षीया राधादेवी मण्डलले भनिन्, “महिलाका लागि राज्यले गरेका विशेष सुविधा र कानुनको कार्यान्वयनका लागि पनि आवाज उठाउनुपर्छ।”
किशोरीहरूले पनि छुट्टै समूह बनाएर स्वास्थ्य, शिक्षा, बालविवाहविरुद्ध सचेतना र अवसर सृजना गर्न सक्रिय भएका छन्। रामगोपालपुर–९ की १६ वर्षीया बिना चमारले भनिन्, “सङ्गठित भएर सामूहिक रूपमा अघि बढ्दा हाम्रा कुरालाई पनि ध्यान दिइएको छ।”
ग्रामीण क्षेत्रमा अझै आम महिला आफ्ना समस्या भन्न असहज अनुभव गर्छन्। राजनीतिक क्षेत्रका सक्रिय महिलाहरू भन्छन् कि महिलालाई सङ्गठित बनाउन प्रेरित गर्नु मुख्य चुनौती हो। बर्दिबास–३ की सरस्वती चौधरीले भनिन्, “सङ्गठनले महिला अधिकार र कर्तव्यबारे जानकारी दिन्छ र आवाज उठाउन सक्षम बनाउँछ।”
सङ्गठन र आर्थिक गतिविधिमा आबद्धता बढेसँगै महिलाहरूको राजनीतिक चेतना पनि बढेको छ। चौधरीले भनिन्, “आर्थिक उपार्जनले परिवारमा महिलाको सम्मान र स्थान बढाएको छ।”
नेपाली कांग्रेसका नेता शान्तिसिंह थारुका अनुसार महिला अधिकारको कार्यान्वयन र उपलब्धि महिलाको सङ्गठित आवाजकै प्रतिफल हो। विभेदविरुद्ध अभियानमा सक्रिय महिलाहरू भन्छन् कि योग्य महिला उपलब्ध गराएर सहभागितामूलक राजनीतिक अवसर बढाउनु जरूरी छ।