काठमाडौँ । विद्युतीय सवारी साधनको विश्वव्यापी बजारमा सन् २०२५ ले ऐतिहासिक मोड ल्याएको छ। अमेरिकी कम्पनी टेस्लाको बिक्रीमा गिरावट आएसँगै चिनियाँ अटो निर्माता बीवाईडीले पहिलो पटक टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी (ईभी) बिक्रेताको स्थान हासिल गरेको छ।
शुक्रबार सार्वजनिक तथ्याङ्कअनुसार टेस्लाको विश्वव्यापी डेलिभरी अघिल्लो वर्षको तुलनामा करिब ८.६ प्रतिशतले घटेको छ। टेस्लाले सन् २०२५ मा करिब १६ लाख ५५ हजार ईभी उत्पादन गरेकोमा १६ लाख ३६ हजार मात्र डेलिभर गरेको थियो। जबकि सन् २०२४ मा कम्पनीले १७ लाख ७३ हजार सवारी उत्पादन र १७ लाख ८९ हजार सवारी डेलिभर गरेको थियो।
विशेषगरी अमेरिकामा विद्युतीय सवारी खरिद गर्दा उपलब्ध कर छुट सन् २०२५ को सेप्टेम्बरदेखि हटाइएपछि टेस्लाको बिक्रीमा ठूलो नकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। वर्षको चौथो त्रैमासिकमा मात्रै टेस्लाको डेलिभरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले घटेर ४ लाख १८ हजारमा सीमित भएको छ।
यता, चिनियाँ कम्पनी बीवाईडी ले सन् २०२५ मा उल्लेखनीय प्रगति गर्दै २२ लाख ५७ हजारभन्दा बढी पूर्ण विद्युतीय सवारी (BEV) बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २८ प्रतिशतको वृद्धि हो। बीवाईडीले चीनको आन्तरिक बजारसँगै एसिया, युरोप र ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरिरहेको छ।
यद्यपि टेस्ला अझै पनि अमेरिकामा करिब ४५ प्रतिशत बजार हिस्सासहित शीर्ष कम्पनीकै रूपमा कायम छ, समग्र अमेरिकी ईभी बजार भने सुस्त बन्दै गएको देखिन्छ। कक्स अटोमोटिभका अनुसार सन् २०२५ को नोभेम्बरमा अमेरिकामा समग्र ईभी बिक्री ४० प्रतिशतले घटेको थियो। विश्लेषकहरूले सन् २०२६ मा पनि यस क्षेत्रमा चुनौतीहरू कायमै रहने अनुमान गरेका छन्।