ओखलढुङ्गा।
शिक्षा फाउन्डेसन र ओखलढुङ्गा विपद् व्यवस्थापन समाजको संयुक्त पहलमा ओखलढुङ्गास्थित ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयमा स्कुल ब्याग वितरण तथा प्रेरणादायी कार्यक्रम सम्पन्न गरिएको छ। विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र शैक्षिक यात्रा सहज बनाउन उद्देश्य राखी आयोजित कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधिसहित स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख वक्ता तथा ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका अध्यक्ष र पोकली झरना समाजका संस्थापक अध्यक्ष गुरु केदार बरालले शिक्षा दीगो समाज निर्माणको मूल आधार भएको बताउँदै विद्यार्थीहरूलाई शुद्ध आधार तयार गरी सक्षम नागरिक बन्न प्रेरित गर्न आह्वान गर्नुभयो। उहाँले आपत्–विपत्तिबाहेक समाजको समग्र विकास, चेतना अभिवृद्धि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि संस्था निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो। साथै विद्यालयसम्म पुग्ने बाटो अप्ठ्यारो रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा सडक पिच गर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।
लिखु गाउँपालिका–६ का वडा अध्यक्ष टीका मगरले विद्यालय नमुना विद्यालयतर्फ अघि बढिरहेको भए पनि अझै अभावहरू रहेको बताउँदै यस्तो अवस्थामा विद्यार्थीलक्षी प्रेरणात्मक कार्यक्रम उपयोगी भएको धारणा राख्नुभयो। यस्तै, गाउँपालिका–७ का वडा अध्यक्ष ताराबहादुर तामाङले गाम्लाङदेखि पोखरीसम्मको सडक पिच आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई पहल गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा कोशी प्रदेश, ओखलढुङ्गा (ख) का सांसद बाबुराम गौतमले सत्य, इमानदारी र जिम्मेवारीका साथ काम गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै समाजप्रति उत्तरदायी बन्न अनुरोध गर्नुभयो। नेपाली कांग्रेसका युवा नेता कुमार लुइँटेलले विद्यार्थीलाई समयमै प्रोत्साहन दिन सकिए उनीहरूको आत्मविश्वास अझ सबल हुने धारणा व्यक्त गर्नुभयो। शिक्षा फाउन्डेसनका गतिविधिबारे जानकारी दिंदै समाजसेवी दिनेश कार्कीले अध्यक्ष बरालको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा स्कुल ब्याग वितरणलगायत सामाजिक कार्यक्रम निरन्तर सञ्चालन भइरहेको बताउनुभयो।
पूर्व प्रधानाध्यापक नेत्रकुमारी पौडेलले संस्थासँगको सहकार्य फलदायी भएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रमका दौरान विद्यालयको शैक्षिक उन्नतिमा विशेष योगदान गरेको भन्दै पौडेललाई सम्मान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष बरालले शिक्षकहरूको समर्पणप्रति आभार व्यक्त गर्दै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा सबैको साझा सहयोग आवश्यक रहेको जोर दिनुभयो।