दाङ, पुस २२ ।
गुलरिया माघ सांस्कृतिक महोत्सव–२०७८ (थारु सम्बत २६४९) को तयारी अन्तिम चरणमा पुगेको छ । “एकता, विकास र आत्मनिर्भरताका लागि सांस्कृतिक अभियान” भन्ने मूल नारासहित पुस २७ गते घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित शहिल नेत्रलाल पार्कमा आयोजना हुन लागिएको महोत्सवको करिब ८० प्रतिशत तयारी पूरा भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक कुमार चौधरीले जानकारी दिनुभयो ।
महोत्सवलाई सफल बनाउन सिङ्गो गाउँ नै सक्रिय भइरहेको चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँ–गाउँमा प्रचार–प्रसारसँगै मटाँवा, अगुवाहरूलाई निम्तो वितरण, नाच दर्ता, आर्थिक सङ्कलन, ढिक्री पकाउन दाउरा संकलन, पिठो पिसाइ, आलु संकलन, अचार बनाउने तथा डुना–टपरी तयारीजस्ता काम तीव्र गतिमा भइरहेको छ ।
थारु परम्परागत खानाको स्वाद सबै सहभागीले चाख्न सकून् भन्ने उद्देश्यले करिब तीन हजार जनालाई निःशुल्क ढिक्री र आलुको अचार वितरण गर्ने तयारी गरिएको चौधरीले बताउनुभयो । “महोत्सवमा आउने सबैलाई निःशुल्क ढिक्री र आलुको अचार खुवाउने व्यवस्था गरिएकाे छ,” उहाँले भन्नुभयो, “त्यसका लागि महिला, युवा तथा स्थानीय बासिन्दा जुटिरहनु भएको छ ।” यद्यपि मासु, अनडीको रोटीलगायत अन्य परिकारमा सामान्य शुल्क तोकिएको बताइएकाे छ ।
गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा हुन लागेको महोत्सव थारु समुदायको मौलिक संस्कृति, भाषा, साहित्य, भेषभूषा र खानपान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदैछ । महोत्सवमा गाउँ–गाउँबाट आएका समूहहरूले प्रस्तुत गर्ने मघौटा नाच प्रमुख आकर्षण रहनेछ । हालसम्म ४० वटा नाच दर्ता भइसकेका छन् भने थप दर्ता भइरहेको आयोजकले जनाएको छ । त्यस्तै ढुम्रु गीत प्रस्तुति तथा थारु भाषाका साहित्यिक कृतिको वाचन कार्यक्रमसमेत रहनेछ ।
खानपानतर्फ ढिक्री र आलुको अचारबाहेक अनडीको रोटी, अनडीको भात, घोंघी, माछा, गंगटा, सिध्रा माछा, मुसाको मासु, सुंगुरको पक्वालगायत थारुका विभिन्न परम्परागत परिकारका स्टलहरू रहनेछन् । साथै थारु भाषा, साहित्य, इतिहास र संस्कृतिसम्बन्धी पुस्तक, हस्तकला सामग्री, पहिरन र गरगहनाको प्रदर्शनी तथा बिक्रीका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरिने समितिले जनाएको छ ।