काठमाडौँ
नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको ग्राहक विवरण (KYC) अनलाइन अपडेट गर्ने परीक्षण सुरु गरेको छ। परीक्षणको प्रारम्भिक चरण दूरसञ्चार कार्यालय, सुन्धाराबाट गरिएको हो।
नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा परीक्षण कार्यको उद्घाटन गरे।
प्रमुख व्यावसायिक अधिकृत मातन्छेले यस परीक्षणले सेवालाई ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरे भने निर्देशक यादवले छोटो समयमा धेरै कार्य सम्पन्न हुन सक्ने र कम्पनीको उत्पादकत्वमा सुधार हुने बताए।
दूरसञ्चार कार्यालय, सुन्धाराका प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डेटा अद्यावधिकमा यसले सहयोग पुग्ने बताए।
हाल, ग्राहकहरूले आफ्नो नाम वा अन्य विवरण सुधार गर्न कार्यालयमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन्। सिस्टमले सो विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।
पहिलो चरणको परीक्षण सफल भएपछि, सेवा क्रमशः काठमाडौँ उपत्यका बाहेकका अन्य कार्यालयमा समेत उपलब्ध गराइने योजना छ। भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने सुविधा उपलब्ध हुने छ।