काठमाडौँ ।
बजारमा चामलको मूल्य केही समययता उल्लेख्य रूपमा घट्न थालेको छ। अधिकांश खाद्यान्नको मूल्य सामान्य वृद्धि भइरहेको बेला जिरा मसिनोदेखि सोना मन्सुलीसम्मका नयाँ चामल सस्तोमा बिक्री हुन थालेका छन्। व्यापारीका अनुसार २५ केजीको बोरा चामल २ सयदेखि ५ सय रुपैयाँसम्म सस्तो भएको छ।
खुद्रा व्यापार संघका सचिव आमुलकाजी तुलाधरका अनुसार भर्खरै धान पाक्ने सिजन सकिँदै बजारमा नयाँ धान र चामलको आपूर्ति बढेपछि मूल्य घटेको हो। “नयाँ चामल बजारमा आउँछ, मूल्य घट्छ नै,” उनले भने, “पुरानो चामल भने अघिल्लो मूल्यमै बिक्री भइरहेको छ।” अहिले बजारमा नयाँ जिरा मसिनो चामल २५ केजीको १६ सयदेखि १८ सय रुपैयाँ र नयाँ सोना मन्सुली १५ सय ५० देखि १६ सय रुपैयाँमा बिक्री भइरहेको छ।
गत वर्ष यही अवधिमा जिरा मसिनो चामल १९ सयदेखि २५ सय र सोना मन्सुली १६ सयदेखि १९ सय रुपैयाँसम्ममा बिक्री भएको थियो। तुलनात्मक रूपमा पुरानो चामल भने उही मूल्यमा बिक्री भइरहेको व्यापारीहरू बताउँछन्।
आयात बढेसँगै मूल्य घट्यो
स्वदेशी उत्पादन बजारमा आउनुका साथै भारतबाट धान र चामलको आयात बढेपछि बजारमा आपूर्ति प्रशस्त हुँदा मूल्य घटेको व्यवसायीको दाबी छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको धान–चामल आयात भएको छ, जुन अघिल्लो वर्षभन्दा उल्लेख्य रूपमा उच्च हो। भारतले लगाएको निर्यात शुल्क हटेपछि आयात सहज बनेको र त्यसले पनि मूल्य घटाउन सहयोग पुर्याएको व्यापारीको भनाइ छ।
अन्य खाद्यान्नको मूल्य कस्तो ?
नयाँ चामल सस्तो भएको बेला लङग्रेन चामल भने महँगो हुन थालेको व्यवसायीले बताएका छन्। भारतबाटै मूल्य बढेर आएको कारण व्यवसायीहरूले प्रतिबोरा १०० देखि २०० रुपैयाँसम्म बढाएका हुन्।
दाल र गेडागुडीमा मिश्रित प्रभाव देखिएको छ। गत वर्ष १५० रुपैयाँ पर्ने चना दाल अहिले १७० पुगेको छ भने मुसुरो दाल १६५ बाट घटेर १५० मा झरेको छ।
खाने तेल भने फेरि महँगिँदै गएको देखिन्छ। गत वर्ष एक चरणमा सस्तो भएका तेल अहिले पुनः वृद्धि हुँदै गएका छन्। काँचो तोरीको तेल प्रतिलिटर ३२५ रुपैयाँबाट बढेर ३६० पुगेको छ। भुटेको तोरी तेल २० रुपैयाँ बढेर ४३०, भटमास तेल २४५ र सनफ्लावर तेल २५० रुपैयाँमा पुगेको खाद्य व्यापारीको भनाइ छ।
उपभोक्ता भने चामलको मूल्य घट्नु सकारात्मक भए पनि अन्य खाद्यान्नमा भइरहेको वृद्धि दीर्घकालीन रूपमा झन् चुनौतीपूर्ण बन्न सक्ने टिप्पणी गरिरहेका छन्।