सुन्दरहरैंचा (मोरङ) ।
राजनीतिक बेथिति र नेतृत्व संघर्षको कथा बोकेको प्रतिक्षित नेपाली फिल्म ‘बिगुल’ले कोशी प्रदेशको इटहरीबाट देशव्यापी प्रचारप्रसार अभियान सुरू गरेको छ। आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रचार अभियान इटहरीस्थित जेसिस भवनमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरिएको हो।
इटहरी जेसिजको आयोजना तथा व्यवस्थापनमा गरिएको कार्यक्रममा जेसिज तथा जुनियर जेसिजका युवाहरूको उल्लेख्य उपस्थिति थियो। करिब ३ देखि ४ दिनसम्म कोशी प्रदेशमा रहेर आक्रामक प्रचार गर्ने योजना सहित फिल्मका लेखक तथा निर्माता दिनेश कोइराला र निर्देशक रमेश कोइरालाको टोली पूर्व पुगेको हो।
निर्माता कोइरालाका अनुसार पछिल्लो समय युवामा देखिएको निराशा, सडक आन्दोलनको असर र राजनीतिक नेतृत्वप्रति उठेका प्रश्नलाई फिल्मले भावनात्मक रुपमा प्रस्तुत गरेको छ। ट्रेलर सार्वजनिक भएपछि यसलाई ‘जेनजी आन्दोलन’ सँग जोडेर व्याख्या भए पनि उनले फिल्मको छायांकन गत वर्ष बैशाखमै सुरू भएको र आन्दोलनसँग समयगत संयोग मात्र भएको स्पष्ट पारे।
साढे ३ मिनेट लामो ट्रेलरले सत्ता संघर्ष, पुराना नेताको कुर्सी मोह र पटक–पटक धोका पाएका युवाको आक्रोशलाई प्रष्ट देखाएको छ। परिवारभित्रको द्वन्द्व, जनतामाथिको राजनीतिक खेलबाड र आगामी निर्वाचनको सन्दर्भ जोडिएको कथाले “अब कस्तो नेतृत्व चयन गर्ने?” भन्ने बहसलाई अगाडि सारेको छ।
फिल्ममा बेनीशा हमाल, नरेन खड्का र विनोद न्यौपानेसहित युवा पुस्ताको प्रतिनिधित्व छ भने सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह र हेमन्त बुढाथोकी जस्ता दिग्गज कलाकारको अभिनयले फिल्मलाई थप प्रभावशाली बनाएको निर्माण पक्षले जनाएको छ। दिनेश कोइरालाको कथा र निर्माण, रमेश कोइरालाको निर्देशन, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्ममा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा रहेको छ। मिरा पण्डितले यस फिल्ममार्फत डेब्यु गरेकी छन् भने रविन्द्र खड्का विशेष भूमिकामा देखिनेछन्।