खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरिरहेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न काठमाडौँस्थित ललितकला क्याम्पसका विद्यार्थी दिक्तेल बजारका विभिन्न स्थानमा चित्राङ्कनमा व्यस्त छन्। क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले चोक, सडकछेउका पर्खालदेखि घरका भित्तासम्ममा कला, संस्कृति र सन्देशमूलक चित्र बनाइरहेका छन्।
विद्यार्थीलाई दश दिनसम्म यहाँ राखेर नगरको पहिचान, संस्कृति तथा स्थानीय विशेषता झल्कने चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो, यसलाई नमुना बजारका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने, “विद्यार्थीले बनाइरहेको कला तथा सांस्कृतिक चित्रले सौन्दर्यकरणसहित आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा सहयोग पुग्नेछ, जसले नगरको आम्दानी बढाउन पनि मद्दत गर्छ।”
पुस ३० गतेसम्म सञ्चालन हुने अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको चाहना र टोलको पहिचानअनुसार चित्र बनाउन निर्देशन दिइएको छ। नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कृति झल्कने चित्र बनाउन लगाइएको नेवा: दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले बताए।
‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ नारासहित अभियानमा संलग्न विद्यार्थीले नगरभित्र रहेका सामुदायिक विद्यालयका चित्रकलामा रुचि राख्ने विद्यार्थीलाई समेत चित्र बनाउन सिकाइरहेको नगर प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिए। नगरपालिकाले कलाकारहरूका लागि खाने-बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको छ।
नगरपालिकाले गत वर्ष मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो, जसअन्तर्गत २१० वटा चित्र क्यानभासमा उतारिएका थिए। यसपटकको अभियानले दिक्तेल बजारको सांस्कृतिक पहिचानलाई अझ प्रस्ट र आकर्षक बनाउने विश्वास लिइएको छ।