विराटनगर । कोशी प्रदेशका पुस्तक तथा स्टेसनरी व्यवसायीहरू आफ्नो एकता, सहकार्य र संगठन सुदृढीकरण को सन्देश बोकेर शनिबार झापाको शिवसताक्षी नगरपालिका-८ स्थित वाटर किङडम पार्क (झिलझिले) मा भेला हुने भएका छन्।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, कोशी प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन का रूपमा आयोजना हुने यस सम्मेलनलाई व्यवसायीहरूको साझा आवाजलाई अझ बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाबाट ३०० जना प्रतिनिधि तथा पर्यवेक्षक अधिवेशनमा सहभागी हुँदैछन्। 'यो अधिवेशन केवल नेतृत्व चयनको कार्यक्रम मात्र होइन, व्यवसायीहरूको एकता, आपसी समझदारी र सामूहिक शक्ति प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च हो', उनले भने।
यसपटकको अधिवेशन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, झापा को आतिथ्यतामा आयोजना हुँदैछ। झापा जिल्ला अध्यक्ष विनोद सापकोटा ले प्रदेशभरका व्यवसायीलाई एउटै मञ्चमा उभ्याएर साझा मुद्दामा आवाज उठाउने अवसरका रूपमा अधिवेशनलाई लिइएको बताए। 'व्यवसायीहरू एकजुट भए मात्र आफ्ना हक-हित सुरक्षित गर्न सकिन्छ',उनले भने।
महासङ्घका कोशी प्रदेश सचिव दिवाकर भट्टराई का अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतद्वार निर्माण, आवास, भोजन, प्रचारप्रसार तथा व्यवस्थापनका सबै कामहरू लगभग पूरा भइसकेका छन्। 'हामी पाहुनाहरूलाई सहज वातावरणमा राखेर व्यवसायी एकताको सन्देश दिन चाहन्छौँ', उनले भने।
यसअघि प्रदेशको तेस्रो अधिवेशन विराटनगरमा सम्पन्न भएको थियो, जहाँ भद्रपुरका जीवन नेपाल को नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको थियो। यसपटक झापाबाट नयाँ नेतृत्व चयन हुने तयारी छ। तर हालसम्म कसैले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि विभिन्न जिल्लामा नेतृत्वबारे छलफल भने चलिरहेको छ।
कोशी प्रदेशमा हाल करिब १ हजार ४ सयभन्दा बढी पुस्तक तथा स्टेसनरी व्यवसायी आवद्ध छन्। महासङ्घले ''गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच र सांगठनिक आधार” भन्ने मूल नाराका साथ व्यवसायीहरूको साझा हितका लागि काम गर्दै आएको छ। यही नाराले प्रदेशका व्यवसायीहरूलाई एकताबद्ध बनाउँदै छुट्टै पहिचान दिलाएको महासङ्घको भनाइ छ।
कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा ले संयुक्त रूपमा दीप प्रज्वलन र ब्यानर उद्घाटनमार्फत गर्ने कार्यक्रम छ। आयोजकका अनुसार उद्घाटन सत्रमै व्यवसायी एकताको सन्देशलाई विशेष प्राथमिकता दिइनेछ।
महासङ्घका पदाधिकारीहरूका अनुसार यो अधिवेशनले विगतका गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा व्यवसायीहरूको साझा मुद्दा, नीति निर्माणमा प्रभाव र संगठनात्मक मजबुतीका विषयमा एकताबद्ध निर्णय गर्नेछ।
प्रदेशभरिका पुस्तक तथा स्टेसनरी व्यवसायीहरू एउटै मञ्चमा भेला हुँदै गर्दा, शिवसताक्षीको सम्मेलनलाई “एकता, सहकार्य र साझा भविष्य” को प्रतीकका रूपमा हेरिएको छ।