शिवसताक्षी, पुस २४ ।
शिवसताक्षी नगरपालिकाको आयोजनामा शैक्षिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षण क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरिएको हो । नगरपालिकाले दीर्घकालीन सेवा, शैक्षिक उपलब्धि र उत्कृष्ट नतिजाको आधारमा विभिन्न श्रेणीका व्यक्तिहरूलाई सम्मान गर्दै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।
नगरपालिकाले २५ वर्ष सेवा अवधि पूरा गरेका दुई जना दीर्घसेवी शिक्षक, अवकाश प्राप्त २४ जना पूर्व प्रधानाध्यापक, अवकाश प्राप्त विद्यालय कर्मचारी तथा बालशिक्षिका गरी जम्मा ६० जनालाई सम्मान गरेको हो । नगरपालिकाका अनुसार अवकाश प्राप्त व्यक्तिहरूलाई यसअघि नै प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिसकिएको छ । उनीहरूको दीर्घ सेवा, अनुशासन र शैक्षिक योगदानको कदर गर्दै सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी कक्षा ८, १० र १२ मा तहगत उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका १६ जना विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको छ । विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनले नगरको शैक्षिक पहिचानलाई बलियो बनाएको भन्दै नगरपालिकाले उनीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरेको हो । संस्थागत विद्यालयतर्फ समग्र उत्कृष्ट विद्यालयको सम्मान दिक्षान्त शिक्षा निकेतन बोर्डिङ स्कुलले प्राप्त गरेको छ । उक्त विद्यालयले गत शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको थियो ।
नगरपालिकाले शैक्षिक गुणस्तर, नतिजा र व्यवस्थापनलाई आधार मानेर विद्यालयलाई उत्कृष्ट घोषित गरेको जनाएको छ । सामुदायिक विद्यालयतर्फ आधारभूत तह (कक्षा १–५) मा श्री अरुणोदय आधारभूत विद्यालय, आधारभूत तह (कक्षा ६–८) मा श्री दिपेन्द्र आधारभूत विद्यालय र माध्यमिक तह (कक्षा ९–१२) मा श्री भानु माध्यमिक विद्यालय, लालझोडा उत्कृष्ट विद्यालय घोषित भएका छन् । यी विद्यालयहरूले शैक्षिक नतिजा, विद्यार्थी सहभागिता र व्यवस्थापनमा राम्रो प्रदर्शन गरेको नगरपालिकाको भनाइ छ ।
उत्कृष्ट प्रधानाध्यापकतर्फ कक्षा १–५ मा श्री अरुणोदय आधारभूत विद्यालयकी तारा कुमारी लावती, कक्षा ६–८ मा श्री दिपेन्द्र आधारभूत विद्यालयका महेश कुमार खड्का र कक्षा ९–१२ मा श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवर सम्मानित भएका छन् । उनीहरूले विद्यालयको शैक्षिक वातावरण सुधार, शिक्षक व्यवस्थापन र विद्यार्थी नतिजामा उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । नगर शिक्षा अधिकारी छवि ढकालका अनुसार कक्षा ८, १० र १२ को अन्तिम परीक्षाको नतिजालाई आधार मानेर विद्यालय, प्रधानाध्यापक तथा विद्यार्थीलाई सम्मान गरिएको हो । उनले भने, ‘शैक्षिक गुणस्तर सुधार तथा उत्कृष्टता प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । यसले शिक्षक, कर्मचारी र विद्यार्थी सबैलाई अझ राम्रो काम गर्न प्रेरणा दिन्छ ।’
कक्षा ८ तर्फ नवकिरण विद्यामन्दिरकी प्रसिद्धि दुलाल, विज्ञान एकाडेमीका आलोक ओझा, श्री दिपेन्द्र आधारभूत विद्यालयका समिर थापा र मोती माध्यमिक विद्यालयकी सवणा विश्वकर्मा उत्कृष्ट नतिजाका ल्याएर पुरस्कृत भएका छन् । कक्षा १० तर्फ दिक्षान्त शिक्षा निकेतनका एनी थापा, कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलका प्रशान्त भण्डारी, भानु माध्यमिक विद्यालयका अभय थापा, सोही विद्यालयकी नीतिका पौड्याल, भगवती माध्यमिक विद्यालयका शैलेन्द्र कुलुङ र भानु माध्यमिक विद्यालयकी माला बस्नेतलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । कक्षा १२ तर्फ भानु माध्यमिक विद्यालयका रुपेश ताजपुरिया, रेखा नेपाल, सुरज आचार्य, झिलझिले माध्यमिक विद्यालयकी अनिषा ताम्राकार, पशुपति एकाडेमीकी अङ्किता पौडेल र सुशान्त सुवेदीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
शिवसताक्षी नगरमा सबै भन्दा धेरै पुरस्कार पाउने विद्यालय भानु मावि लालझोडा हो । तहगत विद्यार्थी, विद्यालय र प्रधानाध्यापक तीन वटै विधामा भानु माविले उत्कृष्टता प्राप्त गरेको छ । शिवसताक्षी नगरपालिकाको शिक्षा शाखाले गत पुस ८ गते सार्वजनिक सूचना प्रकाशित गरी उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रमका लागि दाबी पेश गर्न आह्वान गरेको थियो । सोही सूचनाअनुसार विद्यालयहरूले पेश गरेको प्राप्ताङ्क, नतिजा र विवरणको आधारमा छनोट गरी पुरस्कार वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिकाका अनुसार यो कार्यक्रम हरेक वर्ष नियमित रूपमा सञ्चालन हुँदै आएको छ । यसले शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई प्रोत्साहन मात्र होइन, नगरको समग्र शैक्षिक स्तर उकास्न पनि महत्वपूर्ण भूमिका खेलेको शिक्षक विद्यार्थीको भनाई छ । शिवसताक्षी नगर प्रमुख मेघाहाङ थोप्राले नगरपालिकाको यो कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र गुणस्तर सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।
शिवसताक्षी नगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो ।