कतिपय व्यक्ति भित्रैबाट दबिएका, अत्यन्तै संवेदनशील र भावनात्मक हुन्छन्। उनीहरूको भावना बुझ्ने र कदर गर्ने मान्छे समाजमा एकदमै थोरै हुन्छन्। उनीहरू पूर्ण विश्वासका साथ आफ्ना मनका कुरा खोल्छन्, तर जब त्यो भावना सतहमा आउँछ, समाजले उनीहरूलाई सहानुभूतिको नजरले हेर्नुको सट्टा मजाक, आलोचना र शंकाको दृष्टिले हेर्न थाल्छ। त्यसै पीडामाथि फेरि नुन–चुक छर्किएजस्तै व्यवहार गरिन्छ।
यही व्यवहारको परिणामस्वरूप ती व्यक्तिहरू आफ्ना भित्री भावना लुकाउन बाध्य हुन्छन्। भावनाको निरन्तर दमनले मानसिक तनाव, चिन्ता, अवसाद (डिप्रेसन), निद्रा नलाग्ने समस्या, टाउको दुख्ने, मुटु सम्बन्धी समस्या जस्ता रोगहरू जन्मिन थाल्छन्। अन्ततः यही दबिएको पीडाले कतिपयलाई आत्महत्याको बाटोतर्फ धकेलिदिन्छ।
किशोरावस्था : परिवर्तनको संवेदनशील चरण
म किशोरावस्था भर्खर पार गरेको एक युवा हो।यहाँ मैले विशेष रूपमा किशोरावस्थाको कुरा गर्न चाहेको छु। मानव चेतनाको विकाससँगै एक बालक किशोरावस्थामा प्रवेश गर्दा उसमा शारीरिक, मानसिक र भावनात्मक परिवर्तन तीव्र रूपमा देखिन्छ। यस समयमा युवामा विपरीत लिङ्गीप्रति आकर्षण हुनु स्वाभाविक जैविक प्रक्रिया हो।
वैज्ञानिक रूपमा हेर्दा किशोरावस्थामा डोपामिन, अक्सिटोसिन र सेरोटोनिन जस्ता हर्मोनहरू सक्रिय हुन्छन्, जसले माया, अपनत्व, भरोसा र भावनात्मक नजिकपनको अनुभूति गराउँछ। परिवार बाहेक अन्य व्यक्तिसँग अपनत्व गाँस्ने चाहना हुनु मानव विकासको प्राकृतिक नियम हो, जसले सामाजिक सीप, भावनात्मक परिपक्वता र आत्मपहिचान निर्माणमा सहयोग पुर्याउँछ। यही प्रक्रियाबाट मानव सभ्यताको निरन्तरता सम्भव भएको हो।
नेपाली समाजको यथार्थ
तर नेपाली समाजमा यो स्वाभाविक प्रक्रियालाई अझै पनि गलत, लाजमर्दो वा अनुशासनहीनताको रूपमा हेर्ने प्रवृत्ति बलियो छ।
“किशोरावस्थामा प्रेम गर्नु पढाइ बिगार्ने कुरा हो”
“परिवारबाहेक अरूलाई माया गर्नु गलत हो”
“मनका कुरा खोल्नु कमजोरी हो”
यस्ता सोचहरूले किशोर–किशोरीलाई आफ्नै घरभित्र असुरक्षित बनाइदिन्छ। नेपालमा आज पनि मानसिक स्वास्थ्यबारे खुला छलफल कम छ। परिवारमा भावनात्मक संवादको अभाव, विद्यालयमा परामर्शदाताको कमी, र समाजमा ‘के भन्लान्’ भन्ने डरले गर्दा धेरै किशोर–किशोरी आफ्ना भावना एक्लै बोकेर हिँडिरहेका छन्।
नेपालमा आत्महत्याको दर युवामाझ बढ्दो क्रममा हुनुको एक प्रमुख कारण यही भावनात्मक उपेक्षा र सामाजिक दबाब हो। धेरै घटनामा आत्महत्या गर्ने किशोर–किशोरीले पहिले नै संकेत दिएका हुन्छन्—एकान्त चाहनु, व्यवहार परिवर्तन, चुपचाप बस्नु—तर समाजले ती संकेतलाई गम्भीरतापूर्वक लिँदैन।
समाधानको बाटो
यदि नेपाली समाजले किशोरावस्थालाई समस्या होइन, सम्भावनाको चरणका रूपमा हेर्न सक्यो भने धेरै ज्यान बच्न सक्छन्।
परिवारले डर होइन संवादको वातावरण बनाउनुपर्छ
विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा र काउन्सेलिङ अनिवार्य हुनुपर्छ
समाजले भावनात्मक व्यक्तिलाई कमजोर होइन, संवेदनशील र सचेत मानवको रूपमा सम्मान गर्न सिक्नुपर्छ
भावना लुकाउनु समाधान होइन, भावना बुझिनु र स्वीकारिनु नै स्वस्थ समाजको आधार हो। किशोर–किशोरीलाई सुन्ने कान र बुझ्ने मन भएमा, आत्महत्याजस्तो पीडादायी अन्त्य होइन, आशा र सम्भावनाले भरिएको भविष्य निर्माण गर्न सकिन्छ।