काठमाडौँ ।
मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढ्दै २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको तथ्याङ्कअनुसार, गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको सञ्चिति मङ्सिर मसान्तसम्म १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि वृद्धि भएको छ। गत असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको यस्तो सञ्चिति मङ्सिर मसान्तमा २७ दशमलव ४ प्रतिशतले बढेर ३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। कूल विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव २ प्रतिशत रहेको छ।
चालु आवको पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव ७ महिनाको वस्तु आयात तथा १८ दशमलव २ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा सेवा खातातर्फ भने घाटा बढेको छ। चालु आवको पाँच महिनामा खुद सेवा आय ३६ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २६ अर्ब ६७ करोड रुपैयाँ घाटामा थियो। सेवा खाताअन्तर्गत भ्रमण आय ३ दशमलव ७ प्रतिशतले घटेर ३३ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय ३५ अर्ब २६ करोड रुपैयाँ थियो।
विदेश अध्ययनमा खर्च बढ्दो
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भ्रमण व्यय ५ दशमलव ३ प्रतिशतले वृद्धि भई ८८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय मात्र ५६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा कुल भ्रमण व्यय ८४ अर्ब ५० करोड रुपैयाँ रहेकामा शिक्षातर्फ ४७ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको थियो।
विदेश अध्ययनका लागि जाने विद्यार्थी संख्या र त्यससँग सम्बन्धित खर्च बढ्दै जाँदा शिक्षातर्फको विदेशी मुद्रा बाहिरिने दर तीव्र बन्दै गएको देखिन्छ। यद्यपि रेमिट्यान्स र अन्य आम्दानीका कारण समग्र विदेशी मुद्रा सञ्चिति भने सन्तोषजनक अवस्थामा रहेको राष्ट्र बैंकको निष्कर्ष छ।