काठमाडौं ।
प्रेस काउन्सिल नेपालले सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा देशभर प्रेस स्वतन्त्रता हननका १२१ वटा घटना भएको तथ्य सार्वजनिक गरेको छ। काउन्सिलमा दर्ता भएका निवेदन तथा नियमित अनुगमनका आधारमा पत्रकार र सञ्चारमाध्यममाथि विभिन्न किसिमका आक्रमण, धम्की र अवरोधका घटना भएको पाइएको हो।
काउन्सिलको प्रतिवेदनअनुसार सबैभन्दा बढी धम्की तथा दुर्व्यवहारका ५० घटना अभिलेख भएका छन्। यस्तै आक्रमण तथा कुटपिटका ३७, पेशागत असुरक्षाका १५, कवज वा अवरोधका ६, पक्राउ तथा पक्राउ प्रयासका ५, नीतिगत बन्देजका २, शङ्कास्पद मृत्युका २ र लैङ्गिक हिंसाका १ घटना भएका छन्।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी ६२ वटा घटना भएका छन्। त्यसपछि मधेश प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा ८, कोशी प्रदेशमा ७, लुम्बिनी र गण्डकी प्रदेशमा समान ६–६ तथा कर्णाली प्रदेशमा ५ वटा घटना दर्ता भएका छन्।
लैङ्गिक आधारमा विश्लेषण गर्दा उक्त अवधिमा १२० पुरुष र १ महिला गरी १२१ जना पत्रकार तथा सञ्चारकर्मी प्रेस स्वतन्त्रता हननको शिकार भएका छन्।
यसै अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी १० वटा घटना समेत दर्ता भएको काउन्सिलले जनाएको छ। तीमध्ये बागमती प्रदेशमा ५, मधेश प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ घटना रहेका छन्।
प्रेस काउन्सिल नेपालले पत्रकारहरूको सुरक्षाप्रति राज्य संयन्त्र गम्भीर हुनुपर्ने, दोषीमाथि प्रभावकारी कारबाही गर्नुपर्ने तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि स्पष्ट नीति र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको निष्कर्ष निकालेको छ।