काठमाडौं।
नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा चौधरीले औपचारिक रूपमा शपथ लिएका हुन्।
बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो।
व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका चौधरीले समूहका विभिन्न कम्पनीहरूमा सञ्चालकको रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी समाज सेवामा पनि सक्रिय रहेका छन् र चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन्।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी उपस्थित थिए। नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने उपस्थित थिए।
नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समयमा बैंकले दिगो बैंकिङ अवधारणालाई आत्मसात गर्दै डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ।