काठमाडौं।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यसहित लगानी बोर्ड नेपालले एकल विन्दु सेवा केन्द्र सञ्चालनको गृहकार्य सुरु गरेको छ। यसमार्फत लगानीकर्ताले विभिन्न मन्त्रालय र विभाग धाउनुपर्ने झन्झट हटाएर एउटै स्थानबाट सेवा प्राप्त गर्न सक्नेछन्।
बोर्डका अनुसार एकल विन्दु सेवा केन्द्रमार्फत लगानीसँग सम्बन्धित स्वीकृति, समन्वय र सहजीकरणका कामहरू एकै ठाउँबाट अघि बढाइनेछ। यसको संयोजनका लागि सहसचिव हेमराज तामाङ जिम्मेवार छन्।
यो केन्द्र प्रभावकारी बनाउन हालसम्म १४ वटा सरकारी निकायले अख्तियारीसहित फोकल पर्सन तोकेका छन्। ती फोकल पर्सनहरू सम्बन्धित मन्त्रालय र निकायको ‘सिंगल प्वाइन्ट अफ कन्ट्याक्ट’को रूपमा काम गर्नेछन्।
फोकल पर्सन तोकिएका निकायहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग, उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, भन्सार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, विद्युत विकास विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरण रहेका छन्।
बोर्डले आवश्यक परे अन्य निकायहरूलाई पनि फोकल पर्सन तोक्न सक्ने जनाएको छ। यसैक्रममा सम्बन्धित मन्त्रालय, विभाग र निकायसँगको समन्वयमा सेवा सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार भइसकेको छ।
आउँदो समयमा फोकल पर्सनहरूसँग समन्वय गरेर सेवा प्रवाह सुरु गरिने बोर्डको योजना छ। एकल विन्दु सेवा केन्द्रको अवधारणाले लगानी प्रक्रियालाई सहज बनाउँदै नेपाललाई लगानीमैत्री गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।