रोल्पा, ६ माघ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नेपाल भूराजनीतिक द्वन्द्वको पचेटामा पर्न सक्ने खतरा रहेको चेतावनी दिएका छन्। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो गृह जिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएपछि सदरमुकाम लिवाङमा आयोजित सभालाई सम्बोधन गर्दै पुनले राष्ट्रिय स्वाधीनता बचाउने र रोल्पाली जनताको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरे।
पुनले २४ भदौको विध्वंसमा विदेशी शक्तिको हस्तक्षेप भएको दाबी गर्दै राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण मोडमा रहेको बताए। उनले दक्षिण एसियाका मुलुक श्रीलंका र बंगलादेशपछि नेपालमा पनि विश्व शक्तिहरूको खिचातानी देखिएको उल्लेख गरे। आगामी निर्वाचनमा राष्ट्रियतावादी शक्तिलाई विजयी गराएर सम्भावित भूराजनीतिक द्वन्द्व टार्न मतदाताले विवेकपूर्ण निर्णय गर्नेमा उनी विश्वस्त छन्।
पुनले २३ भदौमा भएको नवयुवाको आन्दोलन जायज भए पनि २४ भदौको विध्वंसमा देशी र विदेशी शक्तिको घुसपैठ भएको टिप्पणी गरे। उनले देशलाई अग्रजहरूले जोगाएर ल्याएको रूपमा भावी पुस्तामा सग्लो रूपमा हस्तान्तरण गर्न सकिन्छ वा सकिँदैन भन्ने चुनौती रहेको बताए।
“देशको राजनीति के हुने हो भन्ने अनुमान गर्न गाह्रो छ। श्रीलंका र बंगलादेशपछि विश्व शक्तिहरूको खिचातानीले नेपाललाई पनि असर गरेको छ। २४ भदौको विध्वंसमा विदेशी शक्तिहरूको हस्तक्षेप भयो र राष्ट्रिय स्वाधीनता चुनौतीपूर्ण बनेको छ। अग्रजहरूले बनाएको देश सग्लो राखेर भावी पुस्तामा हस्तान्तरण गर्न सकिन्छ कि सकिँदैन? त्यो प्रश्न अहिले हाम्रो सामु छ,” पुनले भने।
आफ्नो उम्मेदवारी राष्ट्रिय स्वाधीनताको पक्षमा रहेको भन्दै उनले रोल्पाली जनताको शिर झुक्न नदिने प्रतिबद्धता दोहोर्याए। उनले आफ्नो विजय सुनिश्चित भएको बताए, उनको भनाइमा उनका चिरपरिचित प्रतिद्वन्द्वी कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन जिल्ला छाडेपछि र मुख्य चुनाव प्रचारक सन्तोष सुवेदी नेकपामा प्रवेश गरेपछि नेत्रविक्रम चन्द विप्लवले उम्मेदवारी नदिने घोषणा गरेका कारण हो।
“रोल्पा गणतन्त्र, संघीयता र समावेशीताका लागि सबैभन्दा धेरै बलिदान गरेको जिल्ला हो। यहाँ हाम्रो पार्टीको जग भत्काउन सबैले प्रयास गरिरहेका छन्, तर हामी बलिदानबाट बनेको यो जग भत्काउन दिँदैनौं। सबैलाई स्वच्छ र मैत्रीपूर्ण चुनावी प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्दछौं,” उनले थपे।