बिर्तामोड, माघ १० ।
हरेक वर्षको ऋषि पञ्चमीका दिन मनाइने १३औँ राष्ट्रिय पुस्तक दिवसले पुस्तकको महत्वसँगै शिक्षा र सामाजिक उत्तरदायित्वको सम्बन्धलाई स्मरण गराउँछ। पुस्तक पढ्ने सामग्री मात्र नभई चेतना, अनुशासन र सभ्य समाज निर्माणको आधार हो भन्ने सन्देश बोकेको यो दिवस झापामा पनि अर्थपूर्ण कार्यक्रमसहित शुक्रबार मनाइएको छ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ झापाको आयोजनामा अर्जुनधारा नगरपालिका–५ स्थित नवज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गर्दै राष्ट्रिय पुस्तक दिवस मनाइएको हो।
कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब १०० जना छात्रछात्रालाई जनही कपी, पेन्सिल, बलपेन र खेलकुद सामग्री प्रदान गरिएको थियो। महासङ्घका वरिष्ठ उपाध्यक्ष सुमन खनालका अनुसार करिब ७५ हजार रुपैयाँ मूल्य बराबरका शैक्षिक सामग्री वितरण गरिएको हो। “सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आवश्यक सामग्री सहयोग गर्नु हाम्रो दायित्व हो,” खनालले भने, “यसले पढाइप्रतिको रुचि बढाउन सहयोग गर्छ।”
कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव महेश शर्मा, केन्द्रीय सह–कोषाध्यक्ष रबिन बराल, केन्द्रीय सदस्य पुरुषोत्तम दाहाल, कोशी प्रदेश सदस्य गौरी चौलागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबन्धु थापा, स्थानीय जनप्रतिनिधि लक्ष्मीप्रसाद खनाल, विद्यालयका पूर्व प्रधानाध्यापक कमल भण्डारीलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि महासङ्घका कोशी प्रदेशका निवर्तमान अध्यक्ष जीवन नेपालले पुस्तक व्यवसायीहरूको भूमिकाबारे स्पष्ट दृष्टिकोण राखे। 'व्यवसाय भनेको नाफामुखी काम मात्र होइन,' उनले भने, 'व्यवसायीले कमाएको आम्दानीको केही अंश समाज रूपान्तरणका लागि खर्च गर्नु नै सामाजिक उत्तरदायित्व हो।' उनले झापामा पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घले विगत १२ वर्षदेखि निरन्तर रूपमा सामुदायिक तथा धार्मिक विद्यालयलाई विभिन्न प्रकृतिका सहयोग गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले व्यवसायीहरूको सामाजिक छवि बलियो बनाएको बताए।
विद्यालयकी प्रधानाध्यापक चन्द्रकला भट्टराईले पुस्तक दिवसको अवसरमा प्राप्त सहयोगले विद्यार्थीहरूलाई प्रत्यक्ष राहत पुगेको बताइन्। 'धेरै विद्यार्थी आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन सक्दैनन्,'उनले भनिन्, 'यस प्रकारको सहयोगले उनीहरूको पठनपाठनमा ठुलो मद्दत पुगेको छ।' विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबन्धु थापाले पनि कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थपिएको बताएका छन्। उनले यस वर्षदेखि कक्षा १ सम्म पूर्ण रूपमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको जानकारी दिँदै बाह्य सहयोगले विद्यालयको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रम सफल बनाउन विद्यार्थी बुक्स बिर्तामोड, पूजा कपी चितवन, हिमाल कपी उद्योग विराटनगर र सुगम सेल्स बिर्तामोडको विशेष सहयोग रहेको थियो। महासङ्घ झापाका अध्यक्ष विनोद सापकोटाले दाता व्यवसायीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै भने, 'दाता व्यवसायीहरूको सहयोगकै कारण हामी विद्यालयसम्म पुग्न सकेका हौँ।' उनले सबैको सहकार्य भए झापामै पुस्तकालय निर्माणका लागि जग्गा र भवन निर्माण गर्ने दीर्घकालीन योजना रहेको उनले जानकारी गराए। 'स्थानीयवासीले पनि पुस्तकालयका लागि जग्गा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमको सहजीकरण महासङ्घका सचिव चन्द्रमणि घिमिरेले गरेका थिए। १३औँ राष्ट्रिय पुस्तक दिवसको अवसरमा आयोजित यस कार्यक्रमले पुस्तक व्यवसाय, शिक्षा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै सामुदायिक विद्यालय सुदृढीकरणतर्फ सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाई थियो।